काठमाण्डौ, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आउँदो आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ ।
आज बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौँ, त्यो स्वागतयोग्य छ ।यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक डेढ करोड रुपैयाँ जति पैसा हुन्छ, म त्यो रकम सरकारलाई सहयोग गर्ने प्रतिज्ञा गर्दछु ।’
सांसद श्रीवास्तवले आउँदो आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताउनुभयो ।
प्रतिक्रिया