काठमाण्डौ, १८ जेठ । – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा घमण्ड नदेखाउन आग्रह गर्नुभएको छ ।
आज बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनावमा ठूलो दल भएकोमा घमण्ड र अहङ्कार नदेखाउन कांग्रेसलाई आग्रह गर्नुभएको हो । उहाँले विगतमा एमालेलाई अहङ्कार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहङ्कार आउने हो कि भन्ने डर देखिएको बताउनुभयो ।
अध्यक्ष दाहालले कांग्रेसमा घमण्ड र अहङ्कार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीलाई मानिसहरूले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफैँ त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ, कहिले कांग्रेसलाई ठूलो बनाउँछ भन्छन् । कहिले एमालेको दम्भ बढाइदिन्छ, अहङ्कार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ, कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । हिजो एमालेसँग गठबन्धन गर्दा उसलाई यति धेरै अहङ्कार आयो कि उसले नेतृत्वमा सबै हामी नै हो भनेजस्तो गर्यो । हामी एमालेविरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुग्यौँ । अहिले कांग्रेस पनि फेरि त्यस्तै होला कि भन्ने डर देखिएको छ । कांग्रेसमा पनि एमालेजस्तै अहङ्कार र दम्भ चुलिएर माओवादी केही नि होइन भन्यो भने उसलाई पनि एमालेलाई ठेगान लगाएजस्तै लगाउने दिन नआओस् ।
अध्यक्ष दाहालले काठमाण्डौ र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले माओवादी केन्द्रलाई पाठ सिकाएको बताउनुभयो । चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका उहाँले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो ।
अध्यक्ष दाहालले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रले जितेका पालिकाहरूमा पार्टीको आधार इलाका हुने गरी काम गर्न निर्देशनसमेत दिनुभयो ।
प्रतिक्रिया