जेठ २०,
खोटाङ : जिल्ला कारागारमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधी अभाव भएको छ। अनुगमनका क्रममा उनीहरूलाई औषधि अभाव भएको पाइएको हो । पुरुष ६६ र महिला ३३ गरी ९९ क्षमताको कारागारमा तोकिएको क्षमताभन्दा बढी कैदीबन्दी छन्। तोकिएको भन्दा बढी कैदीबन्दी भएका कारण औषधी अभाव भएको हो।
औषधी सकिएपछि अहिले आफ्नै खर्चमा खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताएको अनुगमनमा सहभागी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। औषधी सकिए पनि सम्बन्धित निकायले ध्यान नदिएको कैदीबन्दीको आरोप छ।
कारागारमा अहिले दैनिक नियमित उच्च रक्तचापका औषधि सेवन गर्दै आएका सात कैदीबन्दी छन्। उनीहरूलाई नियमित उपलब्ध गराउन कारागारको आन्तरिक कोषबाट खरिद गरिएको औषधीसमेत आगामी सोमबारसम्म मात्र पुग्ने कारागारमा कार्यरत अनमी कमला गुरुङले जानकारी दिइन्।
कैदीबन्दीका लागि सरकारले उपलब्ध गराएको औषधि यसअघि कारागारभित्रैका कोरोना भाइरसका संक्रमितलाई उपलब्ध गराउँदा सकिएको पाइएको छ। एउटै समयमा कारागारका १४० कैदीबन्दी कोरोनाबाट सङ्क्रमित भएका थिए ।
दिक्तेलस्थित थामखोरेडाँडामा रहेको जिल्ला कारागार शाखामा हाल ६ महिलासहित १३१ कैदीबन्दी छन्। उनीहरूमध्ये कोही न कोही दैनिकजसो बिरामी भइरहने भएकाले समस्या भएको चौकीदार राजन गिरीले बताए।
औषधी गत चैतमै सकिएपछि तत्कालका लागि कारागारको आन्तरिक कोषबाट खरिद गरेर उपलब्ध गराएको कारागार शाखा प्रमुख सोमप्रसाद आचार्यले जानकारी दिए। नगरप्रमुख भट्टराईले तत्कालका लागि नियमित सेवन गर्नुपर्ने औषधी नगरपालिकाको तर्फबाट उपलब्ध गराइने प्रतिबद्धता जनाए। बाँकी निःशुल्क पाइने औषधीका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने उनको भनाइ छ।
२० जेष्ठ २०७९, शुक्रबार
प्रतिक्रिया