काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।
अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लिन चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालगत शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पोखरेलले यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको हो ।
‘‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गाउनुपर्दैन ?,’’ उहाँले प्रश्न गर्नुभएको छ, ‘‘अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु ।’’
त्यस्तै, उहाँले अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्नुहुँदै यो स्टेट पार्टनरसिप प्रोग्राम भनेको के हो ? भनेर प्रश्न गर्नुभएको छ ।
‘‘यसबारे सरकारको धारणा के छ ? स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ?,’’ उहाँले प्रश्न गर्नुभयो ।
प्रतिक्रिया