प्रदेश

ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमतामा रेमिट्यान्सको महत्वपुर्ण भुमिका छः अर्थमन्त्री



काठमाण्डौ, २९ जेठ । अर्थमन्त्री जनार्दन शमाले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताउनुभएको छ । आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताउनुभएको हो ।

‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै सहयोग मिलेको छ’, उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीहरूको कमाइ सुरक्षित रूपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरू बनिरहेका छन् ।’

रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो । हुन्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक बाटो बाट विदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।

आर्थिक वर्ष २०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उहाँले जानकारी दिनुभयो । ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेका छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेष रूपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ’, उहाँले भन्नुभयो, ‘यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले आईएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रूपान्तरण गरेको बताउनुभयो । गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आउँदो बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको बताउनुभयो । कार्यक्रममा आईएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट सुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्षअप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिनुभएको थियो । उहाँले बजेटमा आएका विषयहरु कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिनुभयो ।

प्रकाशित : २९ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६