रुपन्देही २९ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभामा दुई दिनसम्म चलेको छलफलमाथि मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो । केसीले प्रतिपक्षले उठाएका र संशोधन प्रस्ताव दर्तामा उल्लेख भएका विषयको जवाफ दिँदै नीति कार्यक्रम ५ वर्षको अनुभव र आगामी प्रदेशसभाको नेतृत्वले पनि ग्रहण गर्न सक्ने गरी ल्याइएको बताएका थिए । उनले नीति, कार्यक्रममा केही विषय छुटेको भए पनि समग्र प्रदेशलाई समृद्धको बाटोमा डो¥याउने गरी सबैको नीति, कार्यक्रम बनाउने प्रयास गरिएको बताए । नेतृत्वको मुख्य जिम्मेवारी भनेकै जनतालाई आशा देखाउने भएकाले त्यो सरकारले पूरा गरेको उनको भनाइ थियो ।
मुख्यमन्त्री केसीले सरकारको आगामी वर्षको बजेट पुँजीगतभन्दा चालु खर्च बढी नराख्ने गरी ल्याउन लागिएको जानकारी दिए । प्रतिपक्ष दलले नीति, कार्यक्रमअनुसार बजेट नआउने भन्दै आशंका व्यक्त गरेपछि उनले नीति, कार्यक्रमअनुसार नै बजेट आउने र गत वर्षहरुमा जस्तो पुँजीगत कम र चालु खर्च बढी नहुने प्रतिबद्धता जनाएका हुन् । सबैको सुझाव र माग बजेटले सम्बोधन गर्ने उनले बताए । प्रदेशसभा सदस्यले उठाएका अधिकांश विषयमा उनले जवाफ दिने प्रयास गरेका थिए । सरकारको नीति कार्यक्रममाथि प्रदेशसभामा ३३ जना सदस्यले सुझाव दिएका थिए । सबैका सुझाव र जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जवाफ दिएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको नीति, कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सरकारको नीति कार्यक्रम पारित भएपछि असार १ गते बुधबार सरकारलाई आगामी आवको बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।
२९ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया