काठमाण्डौ, ३० जेठ । प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनुपर्ने बताउनुभएको छ ।
आज सोमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसद्लाई जानकारी गराउनसमेत माग गर्नुभएको हो । उहाँले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लङ्घन गरेको आरोप लगाउनुभयो । डा। रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति आपति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुनेँ, के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थल सेनाको समूहमा काम गर भन्न खोजेको हो । यसले के आशङ्का उत्पन्न गरेको छ भने– स्टेट पाटर्नरशिपु कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ, त्यसको भित्रबाट नेपाल अङ्ग भइसक्यो भनेको हो कि ? यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्रमन्त्री प्रधानमन्त्रीसँगै आउनुपर्यो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफल हुँदा समितिमा परराष्ट्रमन्त्रीले आउँदिन भन्ने हुन्छ । दुई देशको बीचका भ्रमण भइरहने कुरा सामान्य हो । यो भ्रमण आदानप्रदान कसले गर्छ ? हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जनरल नेपाल भ्रमण गर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाँजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमले देखाएको छ । यो एकदमै आपत्तिजनक कुरा हो । सत्तापक्षकै सांसद अमेरिकी भ्रमण गर्नु हुन्न भन्नुभएको छ ।’
सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि उहाँकी पत्नी आरजु राणा सल्लाह लिन भारत गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरशिप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाउनुभयो । साभार
प्रतिक्रिया