दाङ ३१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ ।तुलसीपुर–१६ सहितको करिब १८०० बिघा क्षेत्रफलमा सिँचाइ हुने मलबारे सिँचाइ नहर आयोजना र तारे कुलोको मुहानबाट उत्खनन गरेको पाइएको थियो । मलबारे सिँचाइ कुलोले १७ मौजामा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको भए पनि सोही स्थानबाट उत्खनन भएपछि त्यहाँको सिँचाइ कुलोमा पनि जोखिम हुँदै आएको छ ।
पाँच सय घनमिटर क्षेत्रफलमा उत्खनन गर्न दिएको भए पनि बागेश्वरी निर्माण सेवाले सिँचाइलाई नै प्रभावित पार्न थालेपछि आइतबार स्थानीय त्यहाँ पुगेर विरोधसमेत जनाएका थिए । पाँच टिपर र एउटा एक्साभेटर प्रयोग गर्ने भनी अनुमति पाए पनि त्यहाँ १७ भन्दा बढी सवारी साधनले दोहन गरिरहेका पाएपछि स्थानीयले समेत विरोध जनाएपछि उत्खननमा संलग्न भागेको तुलसीपुर–१६ का वडाध्यक्ष सिवानन्द डाँगीले बताए। बिहान सूर्योदयदेखि, साँझ सूर्यास्तसम्मका लागि उत्खनन गर्न पाइने भए पनि उनीहरुले राति २÷३ बजेसम्म उत्खनन गर्ने गरेको स्थानीय पशुपति विश्वकर्माले बताए ।
३१ जेष्ठ २०७९, मंगलबार








प्रतिक्रिया