दाङ, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।
घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।
गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीरसहितको समाचार प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए । साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।
सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमला
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।
नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् । एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया