कपिलवस्तु, ०२ असार
बाढि पहिरो तथा डुबान बाट हुन सक्ने सम्भावित जोखिमबाट जुध्न कपिलवस्तु प्रहरीले पूर्व तयारी थालेको छ । बर्षायामको बेला कपिलवस्तुमा बर्षेनी हुने गरेका बाढी, पहिरो, नदी कटान, डुबानका क्रममा हुने गरेका मानविय क्षती न्यूनिकरण गर्न प्रहरीले पूर्व तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाका सबै इलाका प्रहरी कार्यालय तथा त्यस मातहतका प्रहरी चौकीलाई विपदका क्रममा संवेदनशिल बन्न आग्रह गर्दै आवश्यक जनशक्ति समेत तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । प्रहरी प्रवक्ता डिएसपी जेशी शाहले जिल्लाले सबै इलाका प्रहरी कार्यालयमा “ दैवी प्रकोप विपद व्यवस्थापन तथा उद्धार समिति” गठन गर्न निर्देशन दिएको छ । “विगतका बर्षहरुमा ढिलो सूचना तथा पूर्व तयारी नहुदा जिल्लामा प्रकोप उद्धार गर्न ढिलाई भएको र कतिपय अवस्थामा दुखद घटनाहरु घटेको हुदा यस बर्ष मनसुन लाग्नु अगाडी नै तयारी थालेका छौ” उहाले भन्नुभयो ।
प्रहरीले उक्त उद्धार समितिमा पौडीबाज प्रहरीहरुको समूह, आवश्यक उद्धार उपकरण तथा सामाग्री तथा स्थानीय समुदाय तथा पालिकाहरु संग समन्वय गर्ने छ । यसै गरि प्रहरीले ईलाका क्षेत्रका शस्त्र प्रहरी तथा नेपाली सेना संग समेत उद्धारका लागि जनशक्ति माग गर्ने गरि समन्वय गर्ने जनाएको छ । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले दैवी प्रकोप तथा विपत जनाएर नआउने भएकाले यसको पूर्व तयारी र सर्तकता नै मुख्य उपचार रहेका बताउनुभयो । “हामीले अहिले ७ वटै इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई अर्लट राखेका छौ” उहाले भन्नुभयो । प्रत्येक इलाका प्रहरी कार्यालयमा ९ जनाको टोली र प्रहरी चौकी तथा सीमा क्षेत्रका प्रहरी चौकीमा ५ जना सम्मको टोली विपत व्यवस्थापन तथा उद्धारमा परिचालन गर्ने गरि योजना बनाएको उहाले जानकारी दिनुभयो । सबै भन्दा बढि बाणगंगा नदीको कोपवा, निग्लीहवा, कजरहवा, हर्दौना, महाराजगंज, भलवाड क्षेत्रका नदी हरु र कजवे क्षेत्र, सुरई नदीको शिवपुर, कृष्णनगर शिवानगर क्षेत्र तथा सीमानाको अर्ररा नदी क्षेत्रमा बाढि पहिरोले बढि प्रभाव पार्ने क्षेत्रका रुपमा हेरिएको प्रहरीले जनाएको छ । “हामीले यसका लागि आवश्यक सामाग्रीहरु तथा दक्ष जनशक्तिहरु व्यवस्थापन गरिसकेका छौ, २ वटा डुंगा व्यवस्थापनमा जुटेका छौ उहाले भन्नुभयो । विपत उद्धारका लागि स्थानीय सरकार संग आवश्यक सहकार्य भइरहेको उहाले जानकारी दिनुभयो ।
बर्षेनी बाढि, पहिरो, डुबानले पिडित रहदै आएको कपिलवस्तुका नदी तटिय क्षेत्र तथा सीमा क्षेत्रका बस्तीहरुमा समयमै उद्धार गर्न सके विगतका बर्षहरु जस्तो मानविय क्षतिमा कमि आउने सम्भावना देखिएको छ ।
२ असार २०७९, बिहिबार
प्रतिक्रिया