नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ बाणगंगा नगर कमिटिको अध्यक्षमा गीता भुसाल चयन हुनुभएको छ । नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको हो । वि.स. २०६२ सालमा अनेमसंघ तत्कालीन मोतिपुर गाविसको सदस्य भई राजनीति सुरु गर्नुभएकी भुसालले हाल नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. ८ वडा कमिटि अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ ।
त्यस्तै स्थानीय तह निर्वाचन २०७४ मा बाणगंगा नगरकार्यपालिका सदस्य समेत हुनुभएकी भुसाल विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ भने महिला अधिकारकर्मीको रुपमा पनि चिनिनुहुन्छ ।
नगर कमिटि अध्यक्ष भएसंगै भुसालले संविधानले तोकेको व्यबस्था अनुसार मात्र महिला सहभागीता नभई महिलाहरुको योग्यता, क्षमता र योगदान अनुसार हरेक क्षेत्रमा सहभागी गराउने तर्फ आफ्नो विशेष ध्यान जाने बताउनुभयो । शपथ ग्रहण गर्दै उहाँले विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टीका हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र निष्क्रिय रहेका महिलाहरुलाई राजनीतीमा पहुँच पु–याई महिला नेतृत्वको विकास गर्ने संकल्पका साथ आफु अगाडि बढ्ने बताउनुभयो ।
लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएकी भुसालले राजनीतिमा सबै महिलाहरुको पहुँच अझै नपुगेकाले महिलाहरुको सामाजिक रुपान्तरणमा आफुले अहम भुमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रतिक्रिया