बुटवल २१ ऋसार । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लुम्बिनी प्रदेशको योगदान १४ दशमलव १ प्रतिशत रहेको छ । सात प्रदेशमध्ये यो तेस्रो ठूलो हिस्सा हो । राष्ट्रिय जीडीपीमा सबैभन्दा धेरै बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत रहेकामा दोस्रोमा प्रदेश १ को १५ दशमलव ७ प्रतिशत रहेको छ ।केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार आव २०७८÷७९ मा प्रचलित मूल्यमा ४८ खर्ब रुपियाँको राष्ट्रिय जीडीपी रहने अनुमान रहेकामा लुम्बिनी प्रदेशको योगदान छ खर्ब ८५ अर्ब रुपियाँ रहेको छ ।चालू आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४ प्रतिशत रहने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशको जीडीपीमा कृषि क्षेत्रको योगदान ३० दशमलव १ प्रतिशत, उद्योग क्षेत्रको १५ दशमलव ४ प्रतिशत र सेवा क्षेत्रको ५४ दशमलव ५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अर्धवार्षिक अध्ययन प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल दुई दशमलव ६४ प्रतिशतले वृद्धि भई सात लाख ९८ हजार ८५९ हेक्टर कायम भएको छ ।गत वर्षको तुलनामा चालू आर्थिक वर्ष गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल र रुकुमपूर्व, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्र वृद्धि भएका कारण समग्र कोदो बालीले ढाकेको क्षेत्रफल २१० दशमलव ६६ प्रतिशत र फापरमा बालीले ढाकेको क्षेत्रफल १६७ दशमलव ४५ प्रतिशत वृद्धि भएको हो । चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा खाद्यान्न उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।
२१ असार २०७९, मंगलबार
प्रतिक्रिया