कपिलवस्तु, २३ असार ।
जगदीशपुर ताल अब पन्छी आरक्ष बन्ने भएको छ । चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पन्छी आरक्ष घोषणा गर्न लागिएको हो । चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पु¥याउने गरी पन्छी आरक्ष बनाउन लागिएको सरोकारवालाले जनाएका छन् । वन, वातावरण तथा पर्यापर्यटन विशेषज्ञ विश्वनाथ ओली र गणेशराज जोशीको टोलीले अध्ययन अनुसन्धान गरेर पन्छी आरक्षका लागि उपयुक्त रहेको बताएपछि डिभिजन वन कार्यालयले अग्रसरता लिंदै प्रक्रिया थालेको हो ।
स्थानीय समुदायसँग छलफल र अन्तर्क्रिरया गर्दा आरक्ष बनाउन उपयुक्त हुने राय आएपछि प्रक्रिया अघि बढाइएको छ । ओली र जोशी संलग्न हरित अर्थतन्त्र विकास केन्द्रले पेस गरेको कार्ययोजना अनुसार लुम्बिनी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले घोषणाको प्रक्रिया सुरु गरेको छ । यसका लागि प्रदेशको अन्तरमन्त्रालय सहमति लिन पत्राचार गरिएको मन्त्रालयका वन व्यवस्थापन, योजना तथा अनुगमन महाशाखा प्रमुख नारायणदेव भट्टराईले बताए । ‘घोषणामात्र गर्ने होइन,’ उनले भने, ‘चरा संरक्षण र पर्यापर्यटनको विकासका लागि काम पनि गर्ने हो ।’
पन्छी आरक्ष बनाएर पर्यापर्यटन विकास गर्न डिभिजन वनले ६ महिना लगाएर पाँचवर्षे व्यवस्थापन कार्ययोजना बनाएको थियो । त्यसका लागि २३ करोड ६० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले आगामी आवका लागि २५ लाख बजेट विनियोजन गरेको छ । अन्य स्रोत संरक्षणसँग सम्बन्धित संस्था र सरोकारवालासँग जुटाएर काम थाल्ने महाशाखा प्रमुख भट्टराईले सुनाए । रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल पनि एक हो ।
कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १९७२र१९८० मा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य बनेको छ । बसाइँसराइ गरी आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता हुन् ।
आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ ।
विश्वमै दुर्लभ मानिने वन्यजन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छन् । वर्ड सेन्चुरी घोषणा गर्न डिभिजन वनले प्रतिवेदन स्विकृतिका लागि मन्त्रालयमा पठाएको योजना शाखा प्रमुख केशर खड्काले बताए ।
लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई वर्ड सेन्चुरी वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया