काठमाडौँ २८ असार । एमालेले घोषित रूपमा गठबन्धनतिर नगए पनि प्रदेश एवं संघीय निर्वाचनमा बहुमतका लागि राजनीतिक ध्रुवीकरणको नीति अंगीकार गर्ने भएको छ । स्थानीय तहमा पाएको मतको विश्लेषण गर्दै एमालेले बहुमतका लागि १६ प्रतिशत मत बढाउन राजनीतिक ध्रुवीकरण गर्नुपर्ने विश्लेषण गरेको छ । गत वैशाख ३० मा भएको निर्वाचनमा आंशिकबाहेक एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।असार १९ को केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी अन्तरपार्टी निर्देशिन–४ मा अध्यक्ष केपी शर्मा ओलीले बहुमत प्राप्तिका लागि पार्टीले लिने नीति र गर्नुपर्ने कामबारे उल्लेख गरेका छन् । अपानिमा उनले आसन्न निर्वाचनमा बहुमतलाई गन्तव्य मान्दै त्यसलाई हासिल गर्ने गरी राजनीतिक ध्रुवीकरणमा जोड दिएका छन् ।
‘स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको घेराबन्दी, आक्रमण र राज्यशक्तिको चरम दुरुपयोगका बाबजुद सर्वाधिक लोकप्रिय मत (३४ प्रतिशत) सहित एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको’ दाबी गर्दै एमालेले बहुमत प्राप्तिलाई मुख्य विषय बनाएको छ । ‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ, त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने,’ अपानिमा उल्लेख छ, ‘नयाँ पुस्तामा विशेष ध्यान दिने, पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने, कमजोर ठाउँमा जनाधार विस्तारमा जोड दिने, राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने ।
’राजनीतिक ध्रुवीकरणअन्तर्गत पार्टी प्रवेशमा एमालेको मुख्य जोड छ । ‘खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजनाहरू बनाई कार्यान्वयन गर्ने’ अपानिमा छ । एमालेका एक पदाधिकारीका अनुसार स्थानीय निर्वाचनमा जस्तै सबै शक्तिसँग सहकार्यका लागि खुला रहने नीति छ ।ओलीले गन्तव्य (निर्वाचन जित्ने र पुनः सत्तामा फर्कने) लाई केन्द्रबिन्दुमा राखेर भरपर्दो सहयात्री खोज्ने पार्टी नीति रहेको उल्लेख गरेका छन् । ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन,’ एमालेको अपानिमा छ, ‘तर तत्कालको स्वार्थ पूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्री खोज्ने कुरामा केन्द्रित हुनुपर्छ ।’
एमालेलाई राष्ट्रको मुख्य शक्तिका रूपमा थप बलियो बनाउने एमालेको रणनीति छ । ‘पुँजीवाद पक्षधर र समाजवाद पक्षधर शक्तिबीच ध्रुवीकरण आवश्यक छ तर सत्ता गठबन्धनले अराजनीतिक ध्रुवीकरण गरेर मुलुकलाई संकटमा पुर्याएको छ, लोकतान्त्रिक प्रणाली र संविधानको दायराभन्दा बाहिर, लोकतान्त्रिक पद्धति र प्रणालीको मर्मविपरीत अस्वस्थ प्रतिस्पर्धा गरिरहेको छ,’ अपानिमा भनिएको छ, ‘हाम्रो पार्टी वामपन्थी आन्दोलनको मात्रै होइन, राष्ट्रकै मुख्य शक्ति हो । यसलाई राष्ट्रको मुख्य शक्तिका रूपमा थप बलियो बनाउनुपर्छ र सबै प्रगतिशील, लोकतान्त्रिक र देशभक्त शक्तिहरूको नेताका रूपमा अगाडि बढाइनुपर्छ ।’
ओलीले गठबन्धन रहिरहेसम्म केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदली पार्टी पंक्तिमा आत्मविश्वास बढाउन जरुरी रहेको बताएका छन् । ‘गठबन्धनवालाहरूले स्थानीय चुनावबाट पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ, हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ । हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामर्थ्य राख्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ,’ अपानिमा उल्लेख छ ।
एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताएका ओलीले अर्कोतिर गठबन्धन नै नबन्ने दाबी भने गरेका छैनन् । ‘जस्तो पनि, जसरी पनि गठबन्धन बनाए हुन्छ भन्ने एमाले ठान्थ्यो भने यो गठबन्धन उहिल्यै टुटिसक्थ्यो र अर्को गठबन्धन बनिसक्थ्यो, एमालेका निम्ति गठबन्धनको हेराफेरी, सरकार र आफ्नो भूमिकाको हेराफेरी होइन,’ काठमाडौंमा सोमबार आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले भने, ‘मैले गठबन्धन बनाएर, चलाएर हेरेको छु । त्यसकारण गठबन्धनका लागि गठबन्धन, संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ, फेरबदल ल्याउन र सरकार परिवर्तन गर्न सकिन्छ भन्ने कुरा होइन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’ त्यसकारण एमालेले गठबन्धन बनाउन हतार नगर्ने ओलीको भनाइ छ ।
‘आजकल अखबारहरूमा देखिन्छ, अलिक समय मान्छेहरू एक खालको व्यवहार गर्छन्, अलिक दिनमा अर्कै व्यवहार गर्छन् । एकपटक बिहे हुन्छ अनि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ र डिभोर्स हुन्छ । डिभोर्स साँचो हुन्छ, बिहे नक्कली हुन्छ,’ उनले भने, ‘त्यसकारण साँचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न हतार एमालेले गर्दैन ।’गठबन्धन कति फलदायी हुन्छ भन्ने अहिलेको सरकार जनताबाट खुइलिएको र घृणाको पात्र बनिरहेको कुराले बुझिने उनले बताए । ‘सत्ता मात्रै सबकुछ होइन, हामी पायो भन्दैमा तीनमाना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धनजस्तो होइनौं, विचार गरेर मात्रै चल्छौं,’ उनले भने ।
प्रतिक्रिया