प्रदेश

नगरकोटको सडक विस्तार नभएसम्म सडकबाटै सेवाग्राहीलाई सेवा




काठमाण्डौ, २८ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ कार्यालयले सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामासहित वडा सदस्यहरु हरिप्रसाद लामिछाने, आरती लामा, सोनु विश्वकर्मा, वीरमान तामाङले हिजो सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर त्यहीँबाटै नागरिकलाई सेवा दिनु भएको हो ।

भक्तपुर नगरकोट सडक विस्तारका नाममा ८ वर्षदेखि अलपत्र छ । आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएर सांकेतिक विरोध गर्नु भएको हो । उहाँले भन्नुभयो, “भक्तपुर नगरकोट सडक नबन्दा यहाँका नागरिकले कति दुःख पाएका छन्, सिंहदरबारमा हुइँकिने मन्त्रीलाई के थाहा, ठेक्का लिएर सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीलाई के थाहा, यहाँका नागरिकले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर काटेको सास्ती ।”

आफ्नो साङ्केतिक विरोधले सरकारलाई सडक निर्माण छिटो सम्पन्न गर्न झकझकाओस् र ८ वर्षसम्म सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेर विकल्प खोजोस् भनेर सडकमै सेवा दिएको उहाँको भनाइ छ । सरकारले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ साल जेठ २२ गते भक्तपुर नगरकोट सडक निर्माण गर्न शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता गरेको अहिले आठ वर्ष पूरा भएर नौ वर्ष लागिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन ।

नागरिकले पटकपटक विरोध गर्दा पनि सरकार यो सडकको म्याद थप गरिरहने र निर्माण कम्पनी त्यही आडमा लागत बढाइरहने भएको छ । योे सडकखण्ड बन्ने निश्चित नगरेसम्म अब यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने भन्दै उहाँले शारदाप्रसाद अधिकारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । यसअघि पनि भक्तपुर नगरकोट सडकखण्डमा स्थानीयवासीन्दाले ठेकेदार अधिकारीको फोटो नै गाडी र भित्ता भित्तामा टाँसेर विरोध जनाएका थिए भने मन्त्रीको गाडी सडकमै रोकेर अवरोध गरेका थिए ।

सडक नबन्दा वर्षामा सडकबाटै खोला बगेझैँ पानी बग्ने, सडक बीचबीचमा भत्किएर पहिरो जाने, स्थानीयवासीन्दाको घरभित्रै सडकको पानी पस्ने, सडक हिलाम्मे हुँदा ओहोरदोहोरमा सास्ती हुनुका साथै दुर्घटना समेत बढेको स्थानीय बासिन्दाले बताएका छन् । रासस

प्रकाशित : २८ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६