काठमाण्डौ, २८ असार । जनता समाजवादी पार्टी जसपा का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलङ्काकै बाटोमा देश पुग्ने दाबी गर्नुभएको छ ।
आज मङ्गलवार काठमाण्डौमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा पनि सरकार र राजनीतिक दलहरूमा आसेपासे र अहङ्कारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्यसत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रीलङ्कामा राजपक्षे परिवारमा जे गरे पनि हुन्छ भन्ने अहङ्कार आएपछि देश कस्तो भयो ? उनीहरूले भ्रष्टाचार गरे । नेपालमा पनि त्यही अवस्था आउन सक्छ । आसेपासेलाई पदमा राखेर श्रीलङ्कामा कस्तो अवस्था आयो ? के नेपालमा पनि त्यही भइरहेको छैन ? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासे राख्ने चलन बढिरहेको छ । नेपाल पनि त्यही गम्भीर सङ्कटमा छ ।’
अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्यसत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने दुष्चक्रमा नेपाल फसेको दाबी गर्नुभयो । उहाँले नेपाल पनि श्रीलङ्काजस्तै गम्भीर सङ्कटमा रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया