प्रदेश

सत्तारुढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालको उपसभामुखमा मनोनयन दर्ता



काठमाण्डौ, ३० असार । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराउनु भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङको प्रस्ताव र नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरीको समर्थनमा उहाँले केहीबेर अघि मनोनयन दर्ता गराउनु भएको हो।

मनोनयनका लागि अघि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ । कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ । त्यसका लागि एमाले अहिले छलफलमा छ ।

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद् बैठकमा चुनाव हुनेछ । उपसभामुखमा एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो ।

प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्था अनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६