पर्यटन

टरिगाउँ विमानस्थल मातृका देखि देउवा सम्म उस्तै पीडामा



दाङ ३ साउन । २०११ साल मंसिरमा पहिलो पटकद दाङको टरिगाउँ विमानस्थल प्रयोगमा आएको थियो । राजदरवारसँग नजिक रहेका दाङका स्व। झग्गुप्रसाद शर्मा र कालुुराम चौधरीले तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको सहयोगमा टरिगाउँ विमानस्थलमा उडान–अवतरण सुरु गराएका थिए । खुला चौरका रुपमा रहेको विमानस्थलमा चिसो परालमा आगो बालेर धुवाँको मुस्लोलाई संकेत बनाई विमान अवतरण गराइएको थियो । सो विमानस्थलमा पहिलो यात्रु बनेर तत्कालीन शाही नेपाली सेनाका क्याप्टेन दिलमान सिंह विमानस्थलमा ओर्लिएका थिए ।
पहिलो पटक दाङमा आएको विमान हेर्नेको भिड उत्तिकै थियो । तत्कालीन समयमा गाडी मोटरसम्म कहिलेकाहीँ मात्र देख्न पाएका स्थानीयवासीले पहिलो पटक विमान हेर्न पाउँदा भिड नलाग्ने कुरै भएन । ०११ सालपछि तत्कालीन सरकारले शाही नेपाली वायु सेवा निगमको सानो जहाजमार्फत यो विमानस्थलमा २०४२ सालसम्म सेवा सञ्चालन गरिरह्यो । मुलुकमा यति पुरानो विमानस्थल अहिले पनि स्थानपनाकालको तुलनामा खासै भिन्न छैन । यसबीचमा आसपासका कयौं ठाउँमा नयाँ विमानस्थल बने तर टरिगाउँ विमानस्थलको स्तरोन्नति हुन सकेन ।
०४३ सालदेखि टरिगाउँ विमानस्थलमा विमान बस्नै छोड्यो । झण्डै ३१ वर्ष नियमित उडान गरिरहेको तत्कालीन शाही वायु सेवा निगमको विमान आउन एकाएक बन्द भयो । विमान सेवा किन बन्द भयो भन्ने प्रश्नको खोजी कसैले गर्न सकेनन् । ०४३ सालमा बन्द भएको विमानस्थलमा ०६० सालदेखि फेरि सेवा सुरु भयो । निजी क्षेत्रको पहलमा ०६० देखि ०६६ सालसम्म नियमित हवाई सेवा सञ्चालनमा आयो । ०६६ सालमा विमानस्थलको धावनमार्ग निर्माणका लागि सरकारले नै उडान बन्द ग¥यो । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बहादुर विष्टको पहलमा ३० मिटर चौडाइ र ७५० मिटर लम्बाइ कालोपत्रे धावनमार्ग निर्माण गरिएको थियो । धावनमार्ग निर्माणमा झण्डै दुुई वर्ष लाग्यो । धावनमार्ग निर्माणपछि ०६८ देखि ०६९ मंसिरसम्म नेपाल वायुसेवा निगमको सानो जहाजले यो विमानस्थलमा सेवा सञ्चालन ग¥यो । ०७१ सालमा निजी क्षेत्रका विमान सेवा कम्पनीले पनि परीक्षण उडान गरे ।
०६९ देखि हालसम्म नेपाल वायु सेवा निगमले यो विमानस्थलमा नियमित उडान भर्दै आइरहेको छ । तर विमानस्थलको अवस्थामा भने सुधार आउन सकेको छैन । सानो धावनमार्गका कारण यहाँ साना विमानले मात्र सेवा सञ्चालन गरेका छन् । दाङबाट ठूलो संख्यामा विमान सेवाका लागि नेपालगञ्ज तथा भैरहवा जाने गरे पनि जिल्लामै रहेको विमानस्थल स्तरोन्नति गरी ठुला विमान सञ्चालनयोग्य बनाउन सरोकारवाला निकायले पहल गरेको छैन ।नेपाल वायु सेवा निगम दाङका स्टेशन मेनेजर महेन्द्र कुमार शर्माले उपयुक्त धावन मार्ग नभएका कारण एटीआर विमान दाङमा बस्न नसक्दा दाङ तथा साविक राप्तीवासीहरु विमान सेवाका लागि नेपालगञ्ज र भैरहवा धाउनुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘सानो जहाज चल्छ, थोरै यात्रुमा भाडा महँगो हुन्छ । त्यसैले पनि यहाँका यात्रु नेपालगञ्ज र भैरहवातिर जानुपर्ने अवस्था छ ।’

बन्न सक्छ धावनमार्ग ?
दाङ प्रादेशिक राजधानी पनि हो । यो जिल्ला पश्चिम नेपालको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ । तर यहाँको हवाई सेवा स्तरोन्नतिमा कसैले चासो दिएको छैन । दाङ विमानस्थल प्रमुख गणेश अर्यालले धावन मार्ग विस्तारको सम्भावना रहे पनि लगानी आवश्यक रहेको बताए ।७५० मिटर धावनमार्गलाई न्युनतम १३ सय मिटर विस्तार गर्न सके विमान सेवाकै लागि यात्रीहरू दाङबाट भैरहवा र नेपालगञ्ज धाउनुपर्ने बाध्यता टर्ने उनी बताउँछन् । विमान सेवाका लागि विमानस्थल हाताभित्र ३० हजार लिटर क्षमताको इन्धन डिपोसहित आवश्यक उपकरण व्यवस्थापन गरिसकेको उनले बताए ।

धावनमार्ग विस्तार चुनावी नारामात्र :
टरिगाँउ विमानस्थल स्तरोन्नतीको विषय चुनावी नारामात्र बन्ने गरेको छ । चुनावको समयमा सबैजसो दलले टरिगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नति गरी ठुला विमानको सेवा सञ्चालनयोग्य बनाउने प्रतिबद्धता जनाउँछन् । चुनावी सकिएपछि ती दल र नेताहरुले विमानस्थल स्तरोन्नतिको बाचा पनि बिर्सिन्छन् ।तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले भने, ‘विमान सेवा छैन भनौं भने सञ्चालन त भइरहेकै छ, विमान सेवा छ भनौं भने सानो विमान, भाडा महँगो, हवाई सुरक्षाका हिसावले उस्तै जोखिम, नेताहरुले धावनमार्ग बनाउँदैनन् ।’

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६