प्रदेश

निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्छः गगन थापा



चितवन, ०५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल के का लागि हो पहिले नै टुङ्गो लाग्नुपर्छ भन्नुभयो । महामन्त्री थापाले चुनावपछि र अगाडिको तालमेल असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।’ तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उहाँले स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले आउँदो चुनावका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भन्नुभयो । निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।’ न्यूनतम समझदारी नबनी तालमेल गर्दा चुनाव जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उहाँको भनाइ छ । ‘तालमेलमा रहेका दलहरूमा खाली सिटको बाँडफाँट हुने । चुनाव जित्ने कुरालाई मात्रै ध्यान दिने, चुनाव जितिसकेपछि आ–आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्देरहेछ भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टीको २०७४ सालको चुनावबाट देखेका छौँ’, महामन्त्री थापाले भन्नुभयो, ‘चुनावमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।’

नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उहाँले बताउनुभयो । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उहाँको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । फरक प्रसङ्गमा महामन्त्री थापाले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसम्मत पार्टी चलाउन आफूहरूको दबाब रहेको बताउनुभयो । रासस

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६