पार्वती पाण्डे
कपिलवस्तु, ५ साउन । कपिलवस्तुको सर्वाधिक महत्वपूर्ण मध्येका २ सडक निर्माणको अन्तिममा पुगेका छन् भने त्यस मध्ये एक हस्तान्तरणको चरणमा पुगेको छ । जीतपुर तौलिहवा २१ किमी सडकको घनावसोवास क्षेत्रमा एक्सेस रोड (पहुच मार्ग) बनाउने काम सकिएकोछ । यो काम सकिएसंगै उक्त सडक निर्माता कम्पनीले डिभिजन सडक कार्यलय शिवपुरलाई हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।यता पूर्व–पश्चिम राजमार्गको चन्द्रौटाबाट कृष्णनगर नाका जोड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
२०७५ साल माघबाट निर्माण सुरु कार्य भएको चन्द्रौटा–कृष्णनगर चार लेन सडक ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । चन्द्रौटादेखि कृष्णनगर २० किलोमिटर र कृष्णनगर बजारको ८ किलोमिटर सडक कालोपत्रे गर्ने यसै योजनामा समावेश गरिएको छ ।निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा म्याद थपगरी काम गर्दैआएको छ । २०७५ माघबाट सुरु भएको सडक निर्माणको काम तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई सास्ती खेप्नुपरेको छ । पहिलो पटक २०७८ जेठमा, दोस्रो पटक २०७८ मङ्सिरमा र तेस्रो पटक २०७९ असारमा म्याद थप गरिएको योजना परामर्श सेवाका ईन्जिनियर रेसमलाल श्रेष्ठले बताउनुभयो ।
कोरोनाका कारणले छ महिना तथा नयाँ स्टिमेट डिजाइन गर्दा ६ महिना गरी १ वर्ष म्याद थप गरिएको थियो । पछिल्लो समय पुनः पाँच महिना म्याद थप गरिएको छ । थप भएको म्याद अवधिसम्म पूरा हुनेगरी काम गर्न आग्रह गरिएको श्रेष्ठले बताउनुभयो ।विभिन्न कारणले तोकिएको समयमा काम गर्न नसकेको निर्माणको जिम्मा पाएको कालिका जेभि कम्पनिका नविन गुरुङले बताउनुभयो ।
५ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया