पाल्पा ५ साउन। लुम्बिनी प्रदेश सरकारको लगानीमा पाल्पामा यो वर्ष पाँचवटा पक्की पुलको निर्माण कार्य सकिएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका अनुसार हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डको पूर्वखोलामा कोन्द्रेखोला, झुम्सा–चरङ्गे–धागो कारखाना सडकखण्डको ह्याकबारी र ढुङ्गानाबेँसी– झिरुबास सडकखण्डमा गल्घा पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस्तै तिनाउ–५, को चर्चरे, निस्दी गाउँपालिका–६, स्थित अर्चले र गल्धा अर्चलेको रेचेघाट पुल सकिएको सडक पूर्वाधार कार्यालय प्रमुख अरुण गुप्ताले बताउनुभयो ।
हालसम्म निर्माण सम्पन्न भएका पाँचवटा पुलका लागि प्रदेश सरकारले १५ करोड ६८ लाख ४३ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । डेढ वर्षअघि प्रदेश सरकारकै बजेटमा तानसेन–९, अम्लिहाना तिनाउ खोला पुल निर्माण सम्पन्न भइसकेको छ ।
आर्थिक वर्ष २०७९र८० भित्रै थप नौवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गुप्ताले जानकारी दिनुभयो । माथागढीको बधबारी, खहरे र अरुण खोला पुल निर्माण सम्पन्न हुनेछ । त्यस्तै तानसेन–रानीमहल सडकखण्ड गाईघाट पुल, रामपुरमा मसानेघाट पुल, तिनाउको सत्यवतीमा गोरबन्दी पुल निर्माण सम्पन्न हुनेछन् । हुमिन–ज्यामिरे सडकखण्डको जमलेमा जमलेघाट, झुम्सा–चरङ्गे–धागोकारखाना सडकखण्डमा पालनधारा र दिलदमारमा पुल बन्ने कार्यालयले जनाएको छ ।
५ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया