प्रदेश

के हो गुड्ने मिनी अस्पताल ?



काठमाण्डौ, ०८ साउन । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम, सुविधा अभावले बिरामीको बीच बाटोमै ज्यान जान सक्ने अवस्थाको सामना गरिरहनुपरेको छ ।

तर अस्पतालमा मात्र प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छरछवटा सुविधायुक्त शय्या र साथमा सीसीक्यामरा ।

मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित देशमा प्रयोगमा भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता गाडीलाई नेपालमा पनि भित्र्याएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्नेसहितको सेवा प्राप्त हुने यस्तो गाडी नेपालमा पहिलोपटक भित्रिएको हो ।

अबका विपत्तिमा ती गाडीले सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर त्यस गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताउनुभयो । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठ वटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ । सरकारले गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।

मुख्यतः फण्डमा अमेरिकी सहयोग नियोग (यूएसएड), बेलायती सहयोग नियोग (एमसीडीओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशनको लगानी रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले हिजो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गर्नुभयो । ती गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहने जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा त्यही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।

यस गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् ।

जीवन बचाउने आधुनिक उपकरण, महत्त्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटिभी क्यामरा छन् । यो गाडी एउटाको झन्डै एक करोड रुपैयाँ पर्ने बताइएको छ ।

गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान गर्नै विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६