पाल्पा ५ भदौ । अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०३ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । शनिबार पनि जात्राको नामले विजयोत्सव मनाइएको छ । भगवती जात्राको नामले पनि यो विजयोत्सवलाई चिनिन्छ ।नेपालले अङ्ग्रेज सेनालाई युद्धमा जितेको खुसीयालीमा तानसेनमा विजयोत्सव मनाउन लागिएको हो । वि। सं १८७१ पौष देखि १८७२ जेठसम्मको लडाइमा पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो ।
युद्धमा अङ्ग्रेजी सेनालाई हराएको सम्झनामा वि।स।१८७६ देखी निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाउने गरिएको छ । विजयोत्सवको भगवती रथ शनिबार दिउसो तीन पटक मन्दिरको परिक्रमा गराई सेना, प्रहरी र प्रशासकले श्रद्धापूर्वक पूजाआजा गरी तानसेन बजार परिक्रमा गरिएको रहेको भगवती गुठी व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिए । कोभिड १९ को कारण दुई वर्षसम्म रोकिएको विजयोत्सव भगवती जात्रा यसपटक पुनः गरिएको हो । विजयोत्सवमा तत्कालीन समयमा अङ्ग्रेजसँग युद्धमा खटिएको सबुज गणको पनि सहभागिता रहेको थियो । तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठूलो मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए ।
प्रतिक्रिया