काठमाडौं, १६ भाद्र । महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि बयान लिन सुरु गरेको छ । पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई आज ११ बजे बोलाइएको हो ।
उहाँले हिजो आफ्नो प्रतिरक्षा गर्ने अवसरलाई सदुपयोग गर्नुको सट्टा सहकर्मी न्यायाधीशहरू, बारका पदाधिकारी तथा दलका नेताहरूलाई दोषारोपण गरेर पहिलो दिनको ४ घण्टा बिताउनुभएको थियो । उहाँमाथिको बयान केही दिन लम्बिने देखिएको छ ।
हिजो निर्धारित समयअनुसार ११ बजे नै समितिको सिंहदरबारस्थित कार्यालय पुगेका जबरालाई करिब पौने २ घण्टा सचिवालयमा कुराएर बयान सुरु गरिएको थियो । गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो ।
६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो । भदौ १ मा पहिलो बैठक बसेकोमा समितिले भदौ ८ मा भने कार्यतालिका बनाउँदै १२ दिनमा प्रतिवेदन सदनमा बुझाउने तयारी गरेको छ ।








प्रतिक्रिया