प्रदेश

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा चार वटा घोडासहित २२ करोड ३८ लाखको सैनिक सामग्री हस्तान्तरण




काठमाण्डौ, २० भाद्र । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णण अनुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समारोहमा उहाँले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएको थियो । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपुर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने गाडी माइन प्रोटेक्टेड भेइकल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उहाँले भेटवार्तासमेत गर्नुभयो । पाँच दिने भ्रमणका लागि आइतवार नेपाल आउनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

उहाँले आजै जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । आज अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम छ ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति रहने जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । २००७ सालमा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो । २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो ।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । अहिलेसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले सम्मान प्राप्त गरिसकेका छन् ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६