काठमाडौ २३ भदौ। चुनावी तालमेलमा आफूलाई फाइदा नहुने भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पाँच दलीय गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । यद्यपि जसपालाई पनि साथैमा राखेर सिटको भागबण्डा मिलाउन दिनभर बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुले अन्तिम कसरत गरेकाछन् । गठबन्धनले मागेको सिट कांग्रेसले दिन नसक्ने र तराईमा कांग्रेसले जसपाका लागि त्याग गर्न नसक्ने भएपछि उपेन्द्र यादवले गठबन्धनबाटै बाहिरिने चेतावनी दिएको पाँच दलीय कार्यदलका एक सदस्यले जानकारी दिए ।
पाँच दलले गठन गरेको सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक बुधबार बालुवाटारमा बोलाइएको थियो । यो बैठक निर्णायक हुने बताइएको थियो तर खासै टुंगोमा बैठक पुग्न सकेन । बैठकमा जसपाले २५ सिटको दाबी गरेको नेताहरुले बताएका छन् ।कार्यदलको सदस्यसमेत रहेका कांग्रेसका एक नेताले भने, ‘उपेन्द्र यादवजीले तराईमा २० र पहाडमा ५ गरी कुल २५ सिट माग्नुभएको छर्, १० सिट मात्रै पाउने हो भने एक्लै जित्ने र १६५ स्थानमै उम्मेदवार उठाउन पाउँदा समानुपातिकमा बढी भोट आउने उहाँको तर्क छ ।’
उपेन्द्र यादवको पकड रहेको प्रदेश मधेस हो । मधेसका ३२ मध्ये उपेन्द्र यादवले २० सिट मागेका छन् । तर, कांग्रेस १६ सिटभन्दा तल झर्ने पक्षमा छैन । कांग्रेसले पनि मधेसबाट सिट बढाउन चाहेको छ ।‘मधेसमा जसपालाई २० सिट दिन सकिँदैन,’‘ कांग्रेस नेता भन्छन्, १६ भन्दा तल कांग्रेस झर्न सक्दैन, ३२ बाटै माओवादीलाई पनि दिनै पर्यो।’कार्यदलमा सहभागी कांग्रेस नेता भन्छन्, ‘एक्लै लड्दा फाइदा हुने देखेर जसपा आज गठबन्धनबाट बाहिरियो भने अचम्म नमाने हुन्छ।’
प्रतिक्रिया