रुपन्देही ४ असोज ।भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए । एक हप्ताको बीचमा तीन लाख मूल्य बराबरका भारतीय कुखुरा, तीन वटा सवारी साधन सहित चार जना व्याक्तिलाई व्यवसायीले नियन्त्रणमा लिएका छन् । तर, ती व्याक्ति सामान्य जरिवाना तिरेर उम्किए । सिमानाकामा हुने अवैध कृयाकलाप रोक्न सशस्त्र प्रहरी बल तैनाथ छ । त्यसबाहेक नेपाल प्रहरीले ठाउँ ठाउँमा निगरानी गरिरहेको छ । यसका बावजुद सुरक्षा रेखाबार सहजै तोडेर कुखुरा आयात भैरहेको छ ।
बुधबार पशु क्वारेन्टाइन कार्यालयले भारतबाट पशुजन्य पदार्थको अवैध आयात बढेपछि त्यसलाई रोक्न किसान, व्यवसायी, प्रहरी, प्रशासनका अधिकारी लगायतको उपस्थितिमा छलफल सञ्चालन गरेको थियो । छलफलमा अधिकांश किसानले प्रहरीले तस्करी रोक्न सहयोग नगरेको आरोप लगाए । तस्करी रोक्न सुरक्षाकर्मीहरुलाई पटक–पटक पहल गर्दा समेत सुनुवाई नभएपछि व्यवसायी आफैले नाकामा निगरानी गर्न थालेका हुन् ।
निरीक्षणका क्रममा अवैध पैठारी गरेको भेटिए पक्राउ गरि प्रहरीलाई बुझाउने गरेका छन् । व्यवसायी आफै सकृय भएर अवैध कृयाकलाप रोक्न जुटे पनि नियामक निकायको भने यसमा खाचै चासो देखिएको छैन् । प्रकृया अनुसार पक्राउ परेका व्याक्तिलाई प्रहरीले भन्सार कार्यालयमा बुझाई भन्सान ऐन अन्तरगत चोरी पैठारी मुद्दामा अनुसन्धान गर्नुपर्छ, प्रयोग भएका सवारी साधन जफत हुने कानुनी प्रावधान छ । तर, सामान्य जरिमाना तिरेर छानबिन बिनै तस्करहरु छुटिरहेका छन् ।








प्रतिक्रिया