प्युठान ११ कार्तिक । जनमोर्चाकी दुर्गालाई यस पटक गठबन्धनले पनि सुरक्षित गर्न नसक्ने अबस्था प्युठानमा सृजना भयेको समाचार प्राप्त भएको छ।यसको बिस्तृत विवरण आएको छ।जसनुसार नेकपा मसाल अर्थात् राष्ट्रिय जनमोर्चाको किल्लाको नामले परिचित प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ । कम्युनिष्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको गृह जिल्ला प्यूठानमा मसालको पुरानो सांगठनिक आधार धेरै भत्किएको पछिल्लो चुनावी नतिजाले देखाएको छ । तर पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को सँग कहिले को सँग गठबन्धन गरेर यहाँ उम्मेदवार बनाइरहेका छन् ।
०७४ सालमा नेकपा एमाले,माओवादीसँग गठबन्धन गरेर देशभरमा एक सीट जितेर पार्टीको बीउ जोगाएका उनले अहिले कांग्रेस, माओवादी, नेकपा एस, लोसपासँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन कस्सिएका हुन् ।
८६ वर्षको उमेरमा पार्टीको नेतृत्व सम्हालेका मोहनविक्रमले संसदीय मोर्चाका रुपमा रहेको राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष रहेकी उनकी श्रीमती दुर्गा पौडेललाई सत्तारुढ गठबन्धन दलको उम्मेदवार बनाएका छन् ।
पटक–पटक विभाजन भएर सांगठनिक आधार कमजोर बनेको अवस्थामा जनमोर्चाकी पौडेलसँग र एमालेबाट उनका कटु आलोचक सूर्य थापा चुनावी मैदानमा होमिएका छन् । थापा पहिलो पटक संसदीय निर्वाचनको अनुभव लिँदै छन् भने पौडेल तेस्रो पटक सांसद बन्ने योजनाका साथ मैदानमा पुगेका हुन् ।
एमालेको चौथो पुस्ताको नेता भन्न रुचाउने थापाले जिल्लामा कसैको किल्ला इतिहास बनिसकेको जवाफ पत्रकारलाई दिइरहेका छन् । भन्छन्– ‘आफ्नो परिवारका सदस्यलाई समेत पार्टीमा रोक्न नसक्नेले किल्ला दाबी गर्नु हास्यास्पद हो, स्थानीय निर्वाचनको चुनावी आँकडाले यहाँ दलको तह निर्धारण गरेको छ ।’
पार्टी पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज रहेका ४८ वर्षीय थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए । प्यूठानबाट प्रतिनिधि सभा निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन खोजेका थापालाई आलोचकहरुले छुद्र प्रतिक्रिया दिने व्यक्ति भन्छन्, भने समर्थकहरूले निडर र हक्की स्वभावको भन्छन् । उनी आफैले देखेको कुरा सिधै भन्दा कसैलाई मन नपर्ने भए पनि यथार्थ र सत्य बोल्ने लेख्ने गरेको तर्क गर्छन्।
पहिले मसालको पकड क्षेत्र भनिएको प्यूठानमा पछिल्लो समय कमजोर बन्दै गएको छ । ०७४ सालको निर्वाचनमा एमाले, माओवादीसहितको बाम गठबन्धनकै मतले विजयी भएकी पौडेललाई यस पटक सत्ता गठबन्धनको साथ भएकाले विजय निश्चितजस्तै भएको दाबी उनी निकटकाले गर्दै आएका छन् ।
तर गठबन्धन दलको प्रमुख पार्टी नेपाली कांग्रेसको ठूलो समूहले यहाँबाट कांग्रेसबाहेक अरुलाई मतदान गर्न नसकिने आवाज पटक पटक उठाएकाले गठबन्धनको सबै मत पौडेलले सुरक्षित राख्न चुनौती थपिएको छ । उनीसँग प्रतिस्पर्धामा आएका एमालेका थापा जिल्ला इन्चार्ज भएपछि जिल्लामा पार्टी र संगठन बनाउन लागेपछि ठूलो समूहमा मसाल, माओवादी, नेकपा एस छाडेर पार्टीमा प्रवेश गराएका छन् ।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनविरुद्ध उनले रणनीतिक रुपमा निकालेको सफलताले उनी हौसिएका छन् । ‘स्थानीय तहको निर्वाचनपछि त ठूलो समूह एमालेमा आइसक्यो नि, त्यो बेला हामीले थोरै मतले गुमाएका पालिकामा निकै धेरै संख्यामा प्रवेश गरेको अवस्था छ, यसले हामीले जितको सहजता बनाएको छ’, थापाले भने ।
०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी दुर्गा पौडेललाई विजयी बनाउन मोर्चाको अग्रभागमा रहेका थापा अहिलेका मुख्य प्रतिस्पर्धी बनेकाले उनलाई चुनौती थपिएको हो ।
कुनैबेला जनमोर्चाको पकड क्षेत्र भनिएको प्यूठानमा पछिल्लो समय जनमोर्चा कमजोर बन्दै गएको छ । यसअघि बाम गठबन्धनकै मतले विजयी भएकी पौडेललाई यसपटक सत्ता गठबन्धनको साथ भएकाले विजय निश्चितजस्तै भएको दाबी गर्दै आएकी छन् ।
स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्ने हो भने प्यूठानमा गठबन्धन एमालेभन्दा अघि छ । जिल्लामा पालिका प्रमुखको मत परिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ । एमालेको ३९ हजार १२८ मत छ । यो आधारमा एमाले प्यूठानमा नौ हजार ४३ मतले पछि छ ।
प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ ।
त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले एक हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले एक हजार ३२२ मत प्राप्त गरेको छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्मथलो झिमरुक गाउँपालिकामा स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेको छ । त्यहाँ माओवादी र कांग्रेसबीच गठबन्धन थियो ।यसपटक कांग्रेसका नेता डा गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणा समेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बनेको पनि स्थानीयको आंकलन छ ।
गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएमा यसको फाइदा थापाले लिनेछन् । डा। पोखरेल उनै नेता हुन् जो २०७४ सालको निर्वाचनका पौडेलसँग पराजित भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले गठबन्धनका कारण यस पटक कांग्रेसबाट टिकट पाउन सकेनन्।
पालिका प्रमुखको मत हेर्दा एमाले पछि देखिए पनि समग्रमा एमाले प्यूठानमा विजयी हुने निश्चितजस्तै छ । वैशाखदेखि जिल्लामा ६० जना जिल्ला तहका नेताहरू पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाको च्यानल नै तोडेर एमालेमा प्रवेश गराउन सफल भएका छौँ । त्यस कारण एमाले डराउँदैन । त्यति मात्र होइन, गठबन्धनभित्र चरम असन्तुष्टिको फाइदा हामीले लिन्छौँ’ थापाले भनेका छन् ।
मसालको गढ प्यूठानमा बिस्तारै कमजोर बन्दै गएको छ । मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाइँसमेत छैनन् । उनीहरू एमाले प्रवेश गरेका छन् ।
जिल्ला तहका नेताहरू अर्जुन विक, मोहन रोका लगायत पनि एमालेमा गइसकेका छन् । सिंहका भाइ पर्ने सुरेन्द्र जीसी पनि एमालेमा छन् । सिंहकी बहिनी अजिता सिंह ढकाल, ज्वाइँ योगेन्द्र ढकाल एमाले प्रवेश गरेका छन् ।
प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको प्यूठानको क्षेत्र नम्बर ‘१’मा गठबन्धनको तर्फबाट नेता कृष्ण अधिकारी ‘प्रकाश’ उम्मेदवार छन् भने उनको प्रतिस्पर्धी एमालेको तर्फबाट तुलसीराम शर्मा छन् ।
क्षेत्र नम्बर ‘ख’ मा एमालेको तर्फबाट हरिप्रसाद रिजाल उम्मेदवार छन् भने गठबन्धनको तर्फबाट कांग्रेसका रोज राणा उम्मेदवार छन् ।
राणा कांग्रेस प्यूठान क्षेत्र नम्बर २ का सभापति हुन् भने रिजाल एमालेका केन्द्रीय सदस्य तथा प्यूठान सहइन्चार्ज हुन् । यसअघि २०७४ सालको निर्वाचनमा प्यूठान ‘१’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशका पूर्व शहरी विकासमन्त्री समेत हुन् ।
दुर्गा ५ वर्ष गुमनाम :
प्यूठान आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बामगठवन्धनको बलमा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधि बनेर गइन् ।
बाम गठवन्धनभित्रका दल नेकपा एमाले र माओवादी केन्द्रले उनलाई साथ दिए । निर्वाचनको बेला जिल्लामा विकास गर्ने र जिल्लाबासीको परिवर्तन हुने भन्दै पौडेल प्यूठानका गाउँ बस्तीमा पुगेर भोट मागिन् । मतदाताले उनलाई विश्वास गरे, भोट दिएर जिताए । प्यूठानबाट जित्नुअघि उनी ०७० सालमा समानुपातिक सांसद थिइन् ।
२०७४ मा नेपाली कांग्रेसका नेता प्रा।डा।गोविन्दराज पोख्रेललाई पराजित गर्दै प्यूठानको प्रतिनिधि बनेर सांसद छिरेकी थिइन् उनी । उनका आलोचकहरुका अनुसार सांसद प्रवेशपछि उनले न प्यूठानवासीको समस्या र विकासका एजेण्डा उठाइन् न चुनावअघि बाँडेका आश्वासन पूरा गर्न चासो दिइन । उनको ५ वर्षे कार्यकाल ‘गफ’ गरेरै बित्यो ।
यतिसम्म कि ५ वर्षसम्म प्यूठान फर्केर समेत आइनन् उनी । दुर्गाको ५ वर्षे कार्यकालमा पनि जनताले केही पनि फरक अनुभूति गर्न पाएनन्, पाए त केवल आश्वासन अनि समृद्धिका सपना । पौडेल ५ वर्षसम्म आफूले चुनाव जितेको क्षेत्र प्यूठान फर्किएर नै नआएको जिल्लावासीको गुनासो छ । पाँच वर्षसम्म धेरैले उनको अनुहारसमेत देख्न नपाएको गुनासो गरेका छन् ।
०७६ पछि कोरोनाको महाविपत्ति आयो, कैयौं दुर्घटना भए धेरै धनजनको क्षति भयो, तर दुर्गा सहानुभूति दिनसमेत प्यूठान फर्किनन् । चुनाव जितेपछि जिल्लासँग गुमनाम बनेकी दुर्गा पौडेल अहिले प्यूठानमा फेरी मत माग्न गाउँ छिरेकी छन् । अघिल्लो पटक उनको पछाडि बामगठवन्धन थियो अहिले सत्तारुढका पाँच दलीय गठबन्धन छ । न राजनीतिक पहुँच, न ठूलो पार्टी तर उनलाई विजयी गराउनका लागि प्यूठानका ठूला दलहरू किन उनको पछाडि लागे होलान् स्थानीय टिप्पणी गर्न थालेका छन् ।
पौडेल प्यूठानको प्रतिनिधि भएपनि जिल्लाको केन्द्रमा पहुँच पुग्न नसकेको जिल्लाबासीको गुनासो छ । उनी सम्वद्ध दल राजमोभित्र समेत यसपालि पौडेललाई उम्मेदवारी बनाउन नहुने चर्को दबाब थियो । तर, मोहनविक्रम सिंहकै पत्नी भएकै कारण उनले पुनः टिकट पाएकी थिइन् । राजमोभित्र भएको आन्तरिक निर्वाचनमा नेता बोमबहादुर केसी एक भोटले उम्मेदवारी हुनबाट वञ्चित भएको स्रोतले बताएको छ । गठबन्धनभित्र रहेका राजमो बाहेकका दलका नेता, कार्यकर्ता र मतदाताहरू फेरी दुर्गालाई नै जिताएर पठाउने कुरामा अलमलमा परेका छन् ।
फेरियो प्यूठानमा राजनीतिक वर्चस्व रु
०३६ सालमा प्यूठानमा निर्दलले जित्यो । ०४८ सालको निर्वाचनमा जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो । क्षेत्र नं। १ मा शिवराज सुवेदी र क्षेत्र नं। २ मा मुक्तिप्रसाद शर्मा विजयी भए ।
०५१ सालको निर्वाचनमा क्षेत्र नं। १ मा मसालका नवराज सुवेदी विजयी भए । क्षेत्र नं। २ मा उनै शिवराज सुवेदी विजयी भए । ०५६ सालमा दुई वटै निर्वाचन क्षेत्रमा जनमोर्चा विजयी भयो । क्षेत्र नं। १ मा हरिप्रसाद आचार्य र क्षेत्र नं। २ बाट नवराज सुवेदी विजयी भए ।
०६४ सालमा शान्ति प्रक्रियासँगै निर्वाचनमा आएको माओवादीले प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो ।
प्यूठानी जनताहरू त्यो बेला माओवादीले ‘कि गोठ, कि नोट, कि भोट’ भन्दै दबाबमा पारेर निर्वाचन जितेको बताउँछन् । त्यो बेला क्षेत्र नं। १ मा नारायणप्रसाद अधिकारी विजयी भए । क्षेत्र नं। २ मा दीपक केसी विजयी भए ।
०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो । क्षेत्र नं। १ मा बामदेव गौतम विजयी भए । क्षेत्र नं। २ मा हिराबहादुर केसी विजयी भए ।त्यसपछि प्यूठान दुई निर्वाचन क्षेत्रबाट एकमा खुम्चियो । अनि ०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चासहितको गठबन्धन बनेर संघीय चुनावमा जनमोर्चाकी दुर्गा पौडेलले जितिन् ।
उनै पौडेल अहिले फेरि गठबन्धनबाट उम्मेदवार बनेकी छन् । उनी २०७० मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएकी थिइन् । प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादीका कृष्णध्वज खड्का निर्वाचित भएका थिए ।जिल्लामा यसरी फेरिएको नतिजाका कारण मंसिर ४ को नतिजा कसको पोल्टामा जान्छ भन्ने आंकलन गर्न सकिने अवस्था छैन ।
११ कार्तिक २०७९, शुक्रबार
प्रतिक्रिया