खोज–अनुसन्धान

रविको स्वतन्त्र पाटी बन्न सक्छ यसपाली चौथोदल




काठमाडौं ९ कात्तिक। सत्तारुढ र विपक्षी गठबन्धनमा बाँडिएर दलहरु चुनावी प्रतिस्पर्धामा होमिदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपाली चौथोदलको हैसियत कायम गर्न सक्ने देखिएको छ । पार्टी गठनको चार महिनाभित्रै १६५ मध्ये १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको यो पार्टीप्रति मुख्य दलका शीर्ष नेताहरुले चुनौती महसुस गरेको देखिन्छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त लामिछानेविरुद्ध सार्वजनिक मञ्चमै आक्रामक बन्ने गरेका छन् । अन्य दलका नेताहरु पनि लामिछानेसहित स्वतन्त्रको नारा लगाइरहेका उम्मेदवारको आलोचनामा उत्रिएका छन् ।
टेलिभिजन प्रस्तोता त्यागेर ७ असारमा पार्टी गठन गरेका लामिछानेले भने सरकारकै नेतृत्व गर्ने दाबी गरिरहेका छन् । उनको पार्टीका नेताहरुले भने प्रत्यक्षतर्फ १५ सिटसम्म जित्ने र समानुपातिकतर्फ त्यो भन्दा राम्रो नतिजा ल्याउने बताउने गरेका छन् ।स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुले ल्याएको नतिजाबाट हौसिएर पार्टी खोलेका लामिछानेले कस्तो परिणाम ल्याउँछन् भन्ने देख्न भने अब हप्तादिन कुर्नु पर्नेछ । तर पछिल्ला तीन वटा चुनावको नतिजा प्रवृत्ति अध्ययन गर्दा भने सम्भावित नतिजाबारे आँकलन गर्न सकिन्छ ।
२०६२र०६३ सालको दोस्रो जनआन्दोलन पछि हरेक चुनावमा जसको माहोल आउँछ, त्यही पार्टीले अनपेक्षित मत ल्याएको छ । २०६४ सालको पहिलो संविधानसभामा नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले आफैंले सोचेभन्दा धेरै मत ल्याएका थिए ।त्यो चुनावमा कांग्रेस र एमालेले अनपेक्षित पराजय भोग्नुपर्यो भने ठूला राजनीतिक पार्टीहरु त्यागेर मधेश केन्द्रित राजनीति गर्नेहरुको लहर चल्यो । यसको कारण भने माओवादी र फोरम दुवैले पहिलोपटक चुनावमा सहभागी हुनु मात्रै नभएर मतदाताको मन छुने प्रचार गरेका थिए ।
तर त्यसपछिका ६ वर्ष राजनीतिक उतारचढावपूर्ण बने । दुई वर्षभित्र संविधान निर्माण गर्ने उद्देश्यले गठित संविधानसभाले पटक–पटक म्याद थप गर्दा पनि संविधान बनाउन सकेन ।अप्रत्यासित जितका कारण सम्हालिन नसकेको माओवादीले ९ महिनामै सरकार छाड्नु परेपछि सत्ताको खेल सुरु भयो । जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको एमालेले दोहोर्याएर माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा सरकार बनायो । तेस्रो शक्ति एमालेले सरकार चलाइरहँदा कांग्रेस र माओवादी सहयोगी शक्ति बन्यो ।

मधेस विद्रोहबाट आएको फोरम सत्ताकै लागि फुटिरह्यो । कतिसम्म भने संविधानसभा विघटनपछि चुनाव गराउनकै लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदको अध्यक्ष बनाइयो ।त्यो राजनीतिक अस्थिरता र मुख्य दलहरुले विश्वास गुमाएको लाभ भने राजतन्त्रकै वकालत गर्ने रापप्रा नेपालले पायो । ४ मंसिर २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस, एमाले र माओवादीलाई मत दिएका धेरै मतदाताले समानुपातिकमा राप्रपा नेपाललाई रोजे । ‘एक भोट दाइलाई, एक भोट गाई’लाई भन्ने नाराले चुनावी माहोल ल्यायो ।प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न नसकेको राप्रपाले समानुपातिकतर्फ २४ सिट ल्यायो । त्यो चुनावमा प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवारले २ लाख ५२ हजार ५७९ मत पाउँदा समानुपातिकतर्फ ६ लाख ३० हजार ६९७ मत आयो । कांग्रेस, एमाले र माओवादीले प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा कम मत पाए ।

तर १२ वैशाख २०७२ को महाभूकम्पले मुख्य दलहरुलाई एक ठाउँमा ल्यायो । ३ असोजमा संविधान जारी भयो । संविधान जारी गर्ने क्रममा मुलुकले भारतीय नाकाबन्दी खेप्नुपर्यो । मधेश केन्द्रित दल र आदिवासी जनजाति अभियन्ता बाहेक सबै शक्तिको सहमतिमा संविधान जारी भएपनि बढी श्रेय भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाए ।संविधान जारी भएलगत्तै प्रधानमन्त्री भएका ओली नाकाबन्दीविरुद्ध उभिए । भारतले माइक्रो म्यानेजमेन्टसम्म गर्छ भन्ने आम मनोविज्ञान तानेकाले ओलीप्रति आकर्षण बढ्यो । त्यही ओली आकर्षणकै बीच २०७४ मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव भयो । मुलुकको विकास नहुनुमा राजनीतिक अस्थिरता भएको आम स्वीकारोक्तिको पृष्ठभूमिमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बन्यो । चुनावी नतिजा पनि वाम गठबन्धनकै पक्षमा गयो । ओली झण्डै दुई तिहाइ संसदीय बहुमतको प्रधानमन्त्री बने ।

०७४ को विवेकशील साझा

०६४ सालपछि देखिएको राजनीतिक अस्थिरता र दलहरुप्रतिको वितृष्णाकै कारण संविधानसभाको चौथो शक्ति बनेको राप्रपा नेपालले ०७४ को चुनावमा त थ्रेसहोल्ड नै कटाउन सकेन । तत्कालीन पार्टी महामन्त्री राजेन्द्र लिङदेनले वाम गठबन्धनकै समर्थनमा झापा–३ बाट जितेपनि राप्रपाका अरु नेताले जित्न सकेनन् ।

तर रातारात वाम गठबन्धन हुनु र ओलीको आकर्षण कायमै रहनुको असर त्यसबेला राम्रै चर्चा पाएको विवेकशील साझा पार्टीलाई परेको थियो । ३१ वैशाख २०७४ मा सम्पन्न काठमाडौं महानगरको चुनावमा विवेकशीलकी रञ्जु दर्शना र साझाका किशोर थापाले मेयर पदमा राम्रै मत पाएका थिए । त्यही आधारमा दुबैले एकता गरेर विवेकशील साझा पार्टी बनाएपछि परम्परागत दलहरुप्रति असन्तुष्ट मतदाताका लागि आक्रोश पोख्ने ठाउँ बनेको थियो ।तर नतिजा भने अपेक्षित ल्याउन सकेन । ‘जब एमाले र माओवादीले पार्टी एकता नै गर्नेगरी वाम गठबन्धन गरे, त्यो वितृष्णा एकाएक आशामा परिणत भयो,’ विवकेशील साझाका तत्कालीन नेता सूर्यराज आचार्य भन्छन् ।यसले वामपन्थी मतदातामा कम्युनिस्टहरुको प्रष्ट बहुमतको आश जगायो भने कांग्रेसमा दुई तिहाइ रोक्नुपर्ने दबाव । त्यो बेला कांग्रेसका मतदाताले एक भोट त तपाईंहरुलाई दिन मन थियो, तर कम्युनिस्टहरुको दुई तिहाइ आए तानाशाही लाद्छन् । त्यसलाई रोक्न पनि कांग्रेसलाई नै भोट दिनुपर्ने अवस्था बन्यो भनेर धेरैले भनेको, आचार्य सुनाउँछन् ।

एकाएक फेरिएको राजनीतिक समीकरणका बाबजुद विवेकशील साझाले राम्रै मत पाएको थियो । प्रत्यक्षतर्फ काठमाडौं १ लगायत क्षेत्रमा राम्रै प्रतिस्पर्धा गरेको विवेकशील साझाले समग्रमा ९६ हजार २३३ मत पायो ।समानुपातिकतर्फ भने २ लाख १२ हजार २६६ मत पाएको थियो । त्यसबेला १६५ मध्ये ६६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विवेकशील साझाले शहरी क्षेत्रबाट बढी मत पाएको थियो ।सबभन्दा धेरै काठमाडौंमा ६१ हजार ८०५ मत पाएको विवेकशील साझाले ललितपुरमा २० हजार ४६९, चितवनमा ९ हजार ७०७, झापामा ९ हजार १३२, भक्तपुरमा ८ हजार ९५९, रुपन्देहीमा ८ हजार ८१० र मोरङमा ७ हजार २८९ मत पाएको थियो । तराई मधेसका साथै पहाडी जिल्लाहरुबाट निकै कम ९सबभन्दा कम बाजुराबाट २२० मत पाएको थियो । यद्यपि ३ प्रतिशतको थ्रेस होल्ड पास नगरेका कारण विवेकशील साझाले एउटा पनि सिट पाउन सकेन ।

यो पटक रास्वपा

प्रमुख दलहरुप्रति वितृष्णा बढेका बेला जुन शक्तिले नयाँ माहोल सिर्जना गर्छ, त्यही शक्तिले अनपेक्षित मत पाएको नजीर बितेका तीन चुनावबाट देख्न सकिन्छ । त्यसआधारमा भन्दा यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ०७० को राप्रपा नेपाललेझैं मत पाउने सम्भावना छ । किनकी राजनीतिक परिस्थिति पनि ०७० सँग मिल्दो छ ।यो अवधिमा वाम गठबन्धन गरेर झण्डै दुई तिहाइको बहुमत पाएका एमाले र माओवादीले पार्टी एकता गरेर पनि त्यसलाई जोगाउन सकेनन् । दुई–दुई पटक प्रतिनिधिसभा विघटन भयो, ठूला दलहरु पालैपालो सरकारमा पुगे ।

नेपालको कूटनीतिक सम्बन्धमा थुप्रै प्रश्न उठे । समग्रमा के सत्तारुढ, के विपक्षी सबै दलसँग मतदाता सन्तुष्ट छैनन् । र, जसरी ०७४ मा बीबीसीमा कार्यरत रहँदा बनाएको राजनीतिक पुँजीसहित रवीन्द्र मिश्र आएका थिए, त्यसरी नै यो पटक टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’मार्फत चिनिएका रवि लामिछाने राजनीतिमा आएका छन् ।रवीन्द्रले विवेकशीलबाट आएका युवाहरु र आफ्नो क्षेत्रमा स्थापित भएका मानिसहरुलाई पार्टीमा भेला पारेका थिए । रविले पनि हिजो विवेकशील पार्टीमा आवद्धदेखि आफ्नो क्षेत्रमा स्थापित भएका मानिसहरु आफ्नो समूहमा राखेका छन् ।स्थानीय चुनावमा काठमाडौं, धरान, धनगढी जस्ता ठूला शहरमा स्वतन्त्रलाई मेयर जिताएर बनाएको माहौलमा आएको यो दल मतदाताका लागि परम्परागत दलहरुप्रति रहेको आक्रोश पोख्ने ठाउँ बन्ने देखिएको छ ।

यसले विवेकशील साझाले भन्दा अनुकूल पोलिटिकल ल्याण्डस्केप रास्वपाले पाएको भन्दै डा। सूर्यराज आचार्य भन्छन्, ‘पछिल्लो ५ वर्षमा जेजे भयो, त्यसले परम्परागत दलहरुप्रति मतदाताको निकै आक्रोश र वितृष्णा छ । दलका प्रतिवद्ध कार्यकर्ता समेत एक भोट त रास्वपालाई दिन्छु भन्ने ठाउँमा पुगेको देखिन्छ ।’ अहिलेसम्मको माहौल हेर्दा समानुपातिकमा थ्रेसहोल्ड कट्ने देखिएको भन्दै उनले रास्वपा राष्ट्रिय पार्टी बन्नसक्ने विश्लेषण सुनाए ।

जुन आकारमा भएपनि प्रतिनिधिसभामा पुगिसकेपछि भने रास्वपाको यात्रा चुनौतीपूर्ण हुने उनले बताए । भन्छन्, ‘चुनावका लागि विवेकशील साझालाई भन्दा अनुकूल छ, चुनावपछि संसदीय स्ट्रेन्स्थ प्रयोग गर्न र पार्टी जोगाउन भने धेरै चुनौती छ ।’ फरक–फरक पेशा व्यवसायमा रहेका मानिसहरुलाई पार्टी संगठनात्मक अनुशासनमा राख्नु चुनौतीपूर्ण हुने अनुभव सुनाउँदै डा। आचार्यले भने, ‘हामीले त कम्तिमा स्थानीय चुनाव लडिसकेका थियौं, विचार, राजनीति सबैमा एकता थियो, तै पनि हामीले पार्टी जोगाउन सकेनौं । उहाँहरुले संगठनलाई लयवद्ध बनाउन पाउनु भएकै छैन ।’

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६