काठमाडौं ११ मंसिर,। नेकपा एमालेको दाबी अनुसार आमनिर्वाचन–२०७९ को नतिजा आउन सकेन । एमालेले प्रत्यक्षतर्फ सय सिट ल्याउने दावी गरेको थियो । त्यसमा समानुपातिक सिट जोड्दा एकल बहुमतको सरकार बनाउने दावी मात्रै गरेको थिएन, अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भनेर प्रचार गरेको थियो ।तर गणना अन्तिम चरणमा पुग्दा एमाले दोस्रो शक्ति बन्ने सम्भावना बढी छ । केही सिटले कांग्रेस नै पहिलो शक्ति बन्नेछ । अझ शीर्ष नेताहरूको पराजयले एमाले पंक्तिमा उत्साह देखिँदैन । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट लगायत पदाधिकारी नै पराजित भएका छन् । सत्तारुढ गठबन्धनविरुद्ध चर्को सार्वजनिक अभिव्यक्ति दिन ओलीलाई साथ दिँदै आएका यी नेताहरू पराजित हुँदा जितेकै सिटबारे समेत आवश्यक प्रचार हुन सकेको देखिन्न ।किनकि निर्वाचनपूर्वको दाबी अनुसार नभए पनि एमालेले जितेको सिट संख्या थोरै होइन । उपाध्यक्ष युवराज ज्ञवाली पाँच दलीय गठबन्धनले घेराबन्दी गर्दा पनि एमालेले जितेको सिट संख्यालाई सफलताको रुपमा लिनुपर्ने बताउँछन् । ‘एमालेविरुद्ध पाँच दल मिलेको थियो । त्यो गठबन्धन चिरेर ल्याएको यो नतिजाले फेरि पनि मुलुकको नेतृत्व गर्ने दल एमाले भएको पुष्टि गर्छ’, ज्ञवाली भन्छन् ।प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट आउने १६५ सदस्यमध्ये शनिबार रातिसम्म एमालेले ३९ सिट जितेको छ भने दुई स्थानमा अग्रता छ । कांग्रेसले ५१ सिट जित्दा ५ स्थानमा अग्रता छ ।
बाँकी सिट माओवादी केन्द्र (१७ जित १ अग्रता) एकीकृत समाजवादी (१० जित), राष्ट्रिय स्वतन्त्र पार्टी (७ सिट १ अग्रता), राष्ट्रिय प्रजातन्त्र पार्टी (७ जित०) जनता समाजवादी पार्टी (५ जित), लोकतान्त्रिक समाजवादी पार्टी (४ जित), नागरिक उन्मुक्ति पार्टी (४ जित) लगायतले जितेका छन् ।बाजुराको बुढीनन्दामा शनिबार पुनः मतदान भएको छ भने स्याङ्जा–२ र दोलखामा पनि विवाद भएकाले मतगणना भएको छैन । यी तीन क्षेत्रको नतिजाले कांग्रेस वा एमाले को ठूलो भन्नेमा फरक पार्ने छैन । कुनै पनि दलको एकल बहुमत नपुग्ने निश्चित भएकाले अब संयुक्त सरकार बन्नेछ
सत्ता गठबन्धनविरुद्ध एमालेले ल्याएको सिट संख्या उपाध्यक्ष ज्ञवालीकै भनाइ जस्तो चानचुने होइन । किनकि यसपटक एमालेले चार कारणले आफ्नो राजनीतिक करिअरकै प्रतिकुल चुनाव लडेको थियो ।पहिलो, पार्टी विभाजनको चोट लिएर चुनावमा भाग लिएको थियो । पार्टीकै संस्थापक माधवकुमार नेपाल, झलनाथ खनालसहित ठूलो संख्याका नेताले एमाले छोडेका थिए । ती नेताहरुले २ भदौ २०७८ मा गठन गरेको एकीकृत समाजवादी एमालेविरुद्धकै गठबन्धनमा थियो ।हुन त ०५६ को चुनावमा पनि एमाले विभाजनकै चोटसहित सहभागी थियो । तर त्यसबेला गठबन्धनको संस्कृति नभएकाले विभाजनबाट बनेको मालेले एकल प्रतिस्पर्धा गरेको थियो ।यसपटक भने एकीकृत समाजवादीले एमालेविरुद्धकै मोर्चाबाट चुनाव लड्यो । एमालेले खराब नतिजा निकालेको सुदूरपश्चिममा राम्रो नतिजा निकाल्नुले पनि विभाजनको असर पुष्टि हुन्छ ।
दोस्रो, बलियो सत्ता गठबन्धन एमालेका निम्ति सजिलो थिएन । ०७४ मा वाम गठबन्धन हुँदा कांग्रेसलाई राप्रपाले साथ दिएको थियो । तर यसपटक त्यही राप्रपासँग समेत एमालेले देशब्यापी तालमेल गर्न सकेन । झापा, रुपन्देही र बाँकेमा मात्रै तालमेल भयो ।जसपासँग तराई–मधेशका १४ जिल्लामा मात्रै तालमेल भयो । सानै भएपनि राप्रपा र जसपा देशव्यापी संगठन भएको पार्टी थियो । अझ ०७४ मा राष्ट्रिय जनमोर्चालाई साथमा लिएर एमाले र माओवादी केन्द्रको मात्रै गठबन्धन थियो । यसपटक एमालेविरुद्ध पाँच दल मिलेको थियो ।एमालेका निम्ति तेस्रो प्रतिकुलता भनेको यसपटक पार्टीप्रतिको आकर्षण घटेको थियो । भारतीय नाकाबन्दीविरुद्ध उभिएको जस लिएर ०७४ को चुनावमा ओली र एमालेको आकर्षण उच्च थियो । सामाजिक काम गरेर चर्चा कमाएको तत्कालीन साझा विवेकशीललाई माथ दिनेगरी त्यसबेला ओलीको आकर्षण देखिएको थियो ।
तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्यासित उदय हुनुले पनि आकर्षण रवि लामिछानेतिर सरेको पुष्टि हुन्छ । पार्टी गठनको पाँच महिनाभित्रै यो पार्टीले प्रत्यक्षतर्फ काठमाडौंको १० मध्ये ४ सिट जित्नुको अर्थ लामिछानेको आकर्षण धेरै हुनु नै हो ।स्थानीय चुनावमा काठमाडौं महानगर, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका जस्ता शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेर पुराना कुनै पनि दलप्रति आकर्षण नरहेको संकेत मिलिसकेको थियो ।
यो बुझेरै ओलीले र्याप गीतमा प्रचार सामग्री बनाउनु, मध्यरात एलओडी जानेदेखि प्रविधिमैत्री बन्ने प्रयत्न गरेका थिए । तर पनि नयाँ र गैरदलीय मतदाता तान्न सकेनन् । ठूलो जनसंख्या रहेको राजधानी शहर काठमाडौंमा समानुपातिक तर्फ त एमाले तेस्रोमा धकेलिएको छ । यसको कारण भने सरकारमा हुँदा ओलीले जनभावनाअनुसार काम गर्न नसकेको मतदाताको बुझाइ नै हो ।कमजोर राजनीतिक एजेण्डा एमालेको चौथो प्रतिकुलता थियो । ०७४ को चुनावबाट झण्डै दुई तिहाइ नजिकको बहुमत पाएपनि ओलीले प्रधानमन्त्रीको हैसियतमा तीन वर्ष नपुग्दै ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गरेका थिए । त्यही निर्णयका कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको थियो भने नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने आधार तयार भएको थियो ।कोरोना महामारीको संकटमा नागरिकको जीवनरक्षा गर्न छोडेर ओलीले असंवैधानिक कदम चाल्दै मध्यावधि चुनावमा जोड दिएको विषयलाई एमालेले चिर्न सकेको थिएन । नेकपाको कलहकै कारण प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक कदम भनेर एमाले नेताहरुले दिएको प्रष्टोक्तिमा नागरिकले चित्त बुझाएका थिएनन् ।
यति हुँदाहुँदै पनि एमाले, कांग्रेसकै हाराहारीको शक्ति बनेको छ । ०७४ को चुनावभन्दा झण्डै आधा सिट गुमाए पनि शनिबारसम्म कांग्रेस भन्दा एमाले १२ सिटले मात्रै पछाडि छ । जबकी ०७४ मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै जितेको थियो ।जारी मत गणनामा समानुपातिकतर्फ त एमाले अग्रता कायमै छ । मधेशबाहेक बाँकी ६ प्रदेशमा पनि समानुपातिकतर्फ एमाले अगाडि छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रतिकुल अवस्थामा पनि लोकप्रिय मत पाउनुमा तीन कारण रहेको बताउँछन् । ‘बोल्ड नेतृत्व, सशक्त संगठन र विभाजनको मनोविज्ञान चिर्न सक्नु हाम्रो सफलता हो’, रिजाल भन्छन् । उनी नेतृत्वलाई पहिलो फ्याक्टर मान्छन् ।
चुनावमा कार्यकर्ताको मनोबल उच्च हुनेगरी सार्वजनिक अभिव्यक्ति दिनु, सत्ता गठबन्धन नेताहरुलाई लगातार ललकार्न सक्नु, तर त्यसको जवाफ दिने हैसियतमा गठबन्धनका नेताहरु नहुँदा एमालेले धेरै मत ल्याएको रिजालको तर्क छ ।तर मजबुत संगठन र इमान्दार कार्यकर्ता नै एमालेले यो तहको सफलता ल्याउनुको मुख्य कारण देखिन्छ । किनकि पपुलर मत रवि लामिछानेतिर गएको थुप्रै ठाउँमा एमाले उम्मेदवारले संगठनको मत पाएका छन् । चुनाव नजिते पनि निकटतम प्रतिद्वन्द्वी भएको छ । समानुपातिकतर्फ लामिछानेको पार्टीले माओवादीकै हाराहारीमा मत ल्याउँदा एमाले सबैभन्दा अगाडि देखिनुले पनि त्यो पुष्टि हुन्छ ।
यसबाहेक पार्टी विभाजनपछि पनि एमाले नै पहिलो कम्युनिष्ट पार्टी बन्दैछ भन्ने मनोविज्ञानले काम गरेको छ । गत स्थानीय चुनावको परिणामले त्यस्तो मनोविज्ञान बनाउन सहयोग गरेको थियो । ०७४ मा जितेको ८८ पालिका यसपटक गुमाए पनि २०६ पालिका जित्दै एमाले दोस्रो शक्ति बनेको थियो । ‘त्यही चुनावपछि हामीले विभाजनको मनोविज्ञान चिर्ने काम गर्यौं, त्यसको प्रतिफल अहिले आएको हो’, रिजाल भन्छन् ।एमालेले सत्ता दाबी गर्न सक्ने सिट ल्याएपछि अध्यक्ष ओलीले त सरकार निर्माणकै संकेत दिइसकेका छन् । मत गणनाकै क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर छलफलको प्रस्ताव गरेका छन् । एमाले उपाध्यक्ष ज्ञवाली पनि चुनावी नतिजाले एमालेलाई मुलुककै नेतृत्व गर्ने जनादेश दिएको बताउँछन् ।‘यो चुनावको नतिजाले हामीलाई फेरि पनि मुलुकको नेतृत्व गर्ने शक्ति बनाएको छ’ ज्ञवाली भन्छन्, ‘सकेसम्म कम्युनिस्टहरु मिलेर सरकार बनाउनुपर्छ । नत्र प्रगतिशील शक्तिको साथ लिएर भएपनि एमालेले सरकार बनाउनुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’
प्रतिक्रिया