कृषि

मालपोत र नापी कार्यलयमा नगई जग्गा रोक्का र फूकुवा हुन सक्ने ब्यवस्था




कपिलवस्तु १९ मंसिर ।सरकारले सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर भूमिसँग सम्बन्धित काम छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि बढाएको छ ।मालपोत तथा नापी कार्यालयमै नगई पब्लिक एक्सेस मोड्युलको प्रयोगबाट बैंक तथा वित्तीय संस्था तथा कर्मचारी सञ्चय कोष समेतले जग्गा रोक्का वा फुकुवा गर्न सक्ने व्यवस्था लागू भएको छ ।यसबाट जग्गाधनी वा बैंक तथा वित्तीय संस्थालाई पनि कार्यसम्पादन गर्न सहज भएको छ । विशेषगरी निजामती एवं विभिन्न सरकारी निकायका कार्यरत कर्मचारीले कर्मचारी सञ्चय कोषमार्फत ऋण लिँदा राखिने जग्गा रोक्काको कामसमेत यसबाट थप सहज भएको छ ।
त्यस्तै घर वा जग्गाको फुकुवासमेत मालपोत कार्यालयमै नगईकन काम हुने गरी व्यवस्था गरिएको छ ।यसले सहज रूपमा सेवाग्राहीले सुविधा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले सूचना प्रविधिको अधिकतम उपयोग गरेर सेवालाई विश्वासिलो, भरपर्दो बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको जानकारी दिइन् । सूचना तथा प्रविधिको प्रयोगबाट उपलब्ध हुने सेवाबाट आर्थिक अनियमितता रोक्न सकिने र अनावश्यक झन्झटसमेत बेहोर्नु नपर्ने उनको भनाइ छ । साथै सेवाग्राहीले सहज रूपमा काम गर्न सक्ने वातावरण सृजना भएको उनले बताइन् ।जग्गा प्रशासनसम्बन्धी सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका १२६ ओटै भूमिसुधार तथा मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन सेवा प्रवाह भएको छ ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रणालीगत सबलीकरणअन्तर्गत हार्डवेयरको स्तरोन्नति कार्य सम्पन्न भएको छ ।प्रणाली नचलेको तथा सर्भरमा समस्या भएको जस्ता बहाना देखाएर सेवाग्राहीलाई दुस्ख दिनसमेत नसक्ने गरी प्रणालीको स्तरोन्नति गरिएको छ । देशभरका मालपोत तथा नापी कार्यालयमा कर्मचारीको आकर्षण बढाउन पनि यस खालको व्यवस्था गर्नुपरेको सरकारको बुझाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सरकारी निकायमध्ये सबैभन्दा बढी आर्थिक अनियमितता हुने निकायका रूपमा मालपोत र नापी कार्यालय छन् । सेवाग्राही र कर्मचारीको भेट नै हुन नपर्ने व्यवस्था गरिएपछि आर्थिक अनियमितता समेत रोक्न सकिने सरकारको बुझाइ छ । सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइनमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ भूमिसुधार तथा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल ९पाम०’ लागू गरिएको छ ।सो प्रणालीको प्रयोगबाट कार्यसम्पादनमा समेत सहजता पैदा भएको छ । मालपोत कार्यालयमै नगईकन बैंक तथा वित्तीय संस्था एवं कर्मचारी सञ्चय कोषले समेत जग्गा रोक्का राख्न वा फुकुवा गर्न सक्छन् ।
सो सेवा हाल कलंकी र ललितपुर मालपोत कार्यालयबाट शुरू गरिएको छ । अन्य मालपोत कार्यालयमा पनि लागू गर्ने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।नापी कार्यालयबाट प्रदान गरिने सेवालाई सरल एवं सहज बनाउन नक्सा प्रिन्ट लगायत सेवा अनलाइनमार्फत जुनसुकै स्थानबाट प्राप्त गर्न सकिने गरी विकास गरिएको ‘मेरो कित्ता’ प्रणाली र नेपाल भूसूचना प्रणालीबाट ५० नापी कार्यालयमा सेवा प्रवाह गरिएको छ ।
मन्त्रालयबाटै मालपोत र नापी कार्यालयको गतिविधि एवं सेवा प्रवाहको अवस्था अनलाइन प्रणालीको माध्यमबाट नियमन गर्न सकिने प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ । मालपोत कार्यालयलाई मन्त्रालयबाटै प्रत्यक्ष रूपमा अनुगमन तथा निरीक्षण गर्न सकिने गरी सीसीटीभी सर्भिलेन्स सिष्टम स्थापना गरिएको छ । यसबाट कर्मचारी सर्भर नचलेको वा प्राविधिक समस्या भएको भनेर सेवाग्राहीलाई दुस्ख दिने सम्भावना क्रमशस् अन्त्य भएको छ ।
सबै मालपोत कार्यालयको सेवा प्रवाहका लागि प्रयोगमा रहेको नेटवर्क मन्त्रालयबाटै अनुगमन गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएपछि हरेक दिनको विवरणसमेत सहज भई उपलब्ध हुने गरेको छ । यसबाट मालपोत कार्यालयबाट प्रवाह भएको सेवा संख्या तथा संकलन भएको राजस्वको विवरणसमेत प्राप्त हुने गरेको छ । सूचना प्रविधिको प्रयोगले भूमि प्रशासनमा गुणात्मक परिवर्तन भएको र त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको मन्त्री श्रेष्ठको भनाइ छ । रासस

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६