बुटवल १२ माघ ।एउटा व्यक्तिले कति फरक पार्न सक्छ ? प्रायः यसबारे बहस हुने गरेको छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलले शपथग्रहण गरेकै दिन उछाल भएको पूँजी बजार र निजी क्षेत्रमा आएको उत्साह एक महिना पुग्दासम्म घटेको छैन ।गत पुस ११ गते देशको संकटग्रस्त अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी पाएका पौडेलले यसबीचमा धेरै ठूलो ‘पोलिसी डिपार्चर’ गरेका छैनन् । तर, अर्थतन्त्रमा सामान्य सकारात्मक संकेतहरु भने देखिएका छन् ।
उनले अर्थ मन्त्रालय सम्हालेको एक महिना भयो । अर्थतन्त्र सुधार्ने हुटहुटी बोकेर मन्त्रालय छिरेका पौडेलले अहिलेसम्म के के काम गरे भन्ने चासो उब्जिएको छ । विशेषगरी अर्थतन्त्र संकटको डिलमा छ भनेका अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई डिलबाट खसाल्दैछन् वा बचाउँदैछन् भन्ने टिप्पणीसमेत सुनिएको छ ।उसो त अर्थतन्त्र सुधार गर्न लिएको नीतिको परिणाम आउन कम्तिमा पनि ६ महिना लाग्ने विज्ञहरु बताउँछन् । तथापि, अहिले अर्थतन्त्रसँग सम्बन्धित निकायका उपल्लो तहका कर्मचारीले दिने अभिव्यक्ति भने फेरिएको छ । उनीहरुले अर्थतन्त्र विस्तारै लयमा फर्केको अभिव्यक्ति दिएका छन्
अर्थ मन्त्रालयमा बसेर लामो समय काम गरेका कर्मचारी भने जुन मन्त्री आए पनि गर्ने केही होइन भन्दै उनकै कारण अर्थतन्त्र सुध्रियो भन्ने आधार नभएको बताउँछन् ।
मन्त्रालयका एक सहसचिव भन्छन, ‘मन्त्रीले बोल्दैमा सबै ठीकठाक हुने होइन । त्यसको लागि पोलिसी डिपार्चर चाहिन्छ । पोलिसी लेभलमा यहाँँ नेर हिट गरेर एक्सन सुरु भएको छ भन्ने कतै फिल गर्नुभएको छ ?यद्यपि, पौडेलको अभिव्यक्तिबाट भने अर्थतन्त्रलाई सुधार्ने हुटहुटी रहेको बुझिने ती अधिकारी बताउँछन् ।अर्थतन्त्रलाई खराब बनाएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छ । त्यही खराब अर्थतन्त्र सुधार्ने चुनौती पौडेललाई छ ।कर्मचारी र आर्थिक क्षेत्रका सरोकारवालाहरु के भन्छन् ? अर्थमन्त्रीले दिएको अभिव्यक्तिले भन्दा पनि नीतिगत रुपमा भएको परिवर्तनले एक महिनामा सामान्य सुधार भने दिएको छ ।
पहिलो : मन्त्रिरिषदको निर्णय
मन्त्रिपरिषदको पहिलो बैठकले पूँजी बजारमैत्री निर्णय गरेर अर्थतन्त्रलाई लयमा फर्काउन खोजेको थियो । अर्थमन्त्रीले पनि आफ्नो पहिलो कार्यभार त्यसैबाट थालनी गरे र भोलिपल्टै बजारले उनलाई पत्यायो । पौडेल अर्थमन्त्री बन्नु पूँजी बजारका लागि बरदान सावित भएको स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाटले टिप्पणी गरे ।
दोस्रो : नीति तथा कार्यक्रम
पौडेल आफैं संयोजक भएर मस्यौदा गरेको सरकारको नीति तथा कार्यक्रमले पनि आर्थिक क्षेत्रमा उत्साह जगायो । उनले वाचन गरेको सरकारको न्यूनतम साझा कार्यक्रम अर्थतन्त्र सुधार्ने र सोहीतर्फ बढी परिलक्षित भएको देखिन्छ । यसलाई अर्थकै अधिकारी पनि सुधार गर्न आवश्यक विषय रहेको बताउँछन् ।
मन्त्रिपरिषदको पहिलो बैठक नै अर्थतन्त्रको समस्या सुधारतर्फ केन्द्रित रहनुले पनि वर्तमान सरकार अघिल्लो सरकारले लिएको नीति सुधार्न चाहने पक्षमा देखिन्छ ।
तेस्रो : चालू पूँजी कर्जा संशोधन
व्यवसायीहरुले संशोधनको माग गर्दै मन्त्रालय र राष्ट्र बैंक गुहार्दा पनि चालू पूँजी कर्जा संशोधनमा टसमस नभएको नेपाल राष्ट्र बैंक अन्ततः लचक भयो । अर्थ मन्त्रालयमा पौडेल आएपछि आलोचित मार्गदर्शन संशोधन भयो । यसबाट व्यवसायीले राहत पाए ।
चौथो : घट्दो ब्याजदर
विशेष गरी कर्जाको ब्याजदर घटाउन माग गरिरहेका व्यवसायीले त्यसको राहत अहिले पनि पूरै पाएका छैनन् । यद्यपि निक्षेपको ब्याजदर भने घट्यो । यसले विस्तारै कर्जाको ब्याजदर कम हुने अनुमान गरिएको छ । उनी निकटकाले यसको जस पौडेलले नै पाउने बताउँछन् ।
पाँचौं :सार्वजनिक खर्च कटौती
सरकारकै प्राथमिकतामा परेको खर्च कटौती गर्न अर्थ मन्त्रालयबाटै सुरु भएको छ । केही दिनअघि मात्र मापदण्ड नै बनाएर अनावश्यक खर्च गर्न नपाउने विषयमा मन्त्रालयले महाशाखाहरुलाई परिपत्र गर्यो । यसले सकारात्मक सन्देश दिएको छ ।
छैटौं :राजस्व चुहावट नियन्त्रण गर्न गृहसँग समन्वय
अर्थमन्त्री पौडेलले राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै विभिन्न सार्वजनिक फोरममै बोलिरहेका छन् । भन्सार विन्दूमा हुने राजस्व चुहावट नियन्त्रण गर्न गृहसँग पनि समन्वय गरिएको छ । अर्थमन्त्री पौडेलले गृह मन्त्रालयका अधिकारीहरुलाई राजस्व चुहावट नियन्त्रणका लागि सहयोग गर्न भनिसकेको अर्थ मन्त्रालयले जनाएको छ ।भन्सार विन्दूमा अहिले कडाइ गरिएको त्यहाँका अधिकारीहरु पनि बताउँछन् ।
१२ माघ २०७९, बिहिबार
प्रतिक्रिया