प्रदेश

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश



काठमाडौं, १९ माघ । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।

‘सन्दीप हाम्रो योजनामा रहेको क्रिकेटर हो । उनलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनेका छौं,’ चौधरीले भने, ‘सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ ।’

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ ।

‘फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आएपछि उनले नियमित प्रशिक्षण सुरु गर्नेछन्,’ क्यानका क्रिकेट म्यानेजर विनोद दासले भनेका छन् ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवामात्र गरेन राष्ट्रिय टिममै समावेश गरेको छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६