बुटवल २८ माघ । अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र बैठक गर्न भन्दै बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । २०७१ माघ १५ देखि निर्माण थालिएको केन्द्रको गत भदौ ११ मा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। सञ्चालन कार्यविधि नबन्दा आठ वर्ष लगाएर निर्माण गरिएको केन्द्र अहिले अन्योलता बनेको हो ।रूपन्देहीको रामनगर स्थित बुटवल मण्डपमा रहेको सम्मेलन केन्द्र १ अर्ब ११ करोड रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले बनाएको हो । यसको सञ्चालन खर्च मात्रै मासिक १३ लाख रुपैयाँ अनुमान गरिएको छ । यहाँ एक हजार जना अट्ने गौतमबुद्ध नामक मुख्य सभाहल छ । यससहित २ हजार ७ जना अट्ने क्षमताका १३ वटा हल छन् ।
तिनलाई सम्मेलन, गोष्ठी र भीआईपी बैठक गर्न मिल्ने गरी तयार गरिएको छ । स्थानीय तहले सञ्चालन गर्ने भन्दै बुटवल उपमहानगरले सम्मेलन केन्द्र निर्माणका लागि बुटवल मण्डपमा रहेको ९ बिघा ६ कट्ठा क्षेत्रफल जग्गा उपलब्ध गराएको थियो । तर, यी दुई सरकारी निकायबीच समन्वय नहुँदा अहिलेसम्म केन्द्र कसले कसरी सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन ।ठूलो सभाहल भएकाले मन्त्रालयले नै सञ्चालन गर्ने गरी कार्यविधि तयार गरिरहेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका प्रमुख धर्मेन्द्र पन्थीले बताए । कार्यविधि स्वीकृतिपछि पनि समिति गठन गरेर केन्द्र सञ्चालन हुने भएकाले समय लाग्ने उनले बताए । सम्मेलन केन्द्र सञ्चालन कार्यविधिमा ५ सय जना क्षमताको सभाहल गाउँपालिका वा नगरपालिका र ७ सयसम्मको उपमहानगरपालिकाले सञ्चालन गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया