दाङ २६(फागुन। लमही नगरपालिका ९ अमिलियाका ७५ वर्षीय जानकी लाल बस्नेतले १२ कठ्ठा बढि आफ्नो जग्गा माया जालमा फसेर गुमाएका छन् । उनका अनुसार तुलसीपुर ५ बस्ने करिब ३८ वर्ष कमला थापासँग माया बसेको थियो । गत जेठ महिनाको अन्तिमदेखि उनीसँग शुरुमा फोनमा कुराकानी भएको भन्दै त्यसपछि उनको मायाजालमा परेर आफ्नो सबै सम्पत्ति उनको नाममा पास गरिदिएको उनले बताए । म ७५ वर्षको भए । मलाई जीवनको सहारा चाहिएको बेला कमलाले मायाको नाटक गरेर जीवनमा साथ दिने भनेपछि उनको नाममा मलाई पाल्न र खानको लागि जग्गा पास गरिदिएको थिए । तर, त्यो जग्गा किनबेचको थैलो राखेर उनले पास गरेको मैले थाहा पाए । त्यसपछि उनले मसँग मायाको नाटक गरेर मलाई ठगेको भन्न मेरो मनमा लागेको थियो उनले भने ।
उनले २०७९ कात्तिक २८ गते कमलाको नाममा १२ कठ्ठा १५ धुर जग्गा पास गरिदिएको भन्दै त्यसदिन देखि उनी आफ्नो सम्पर्कमा नआएको समेत बताए । उनले भने,‘ आफूलाई बाँचुन्जेलको सहारा आवश्यक थियो । त्यसैले गर्दा उनको नाममा आफ्नो सबै सम्पत्ति पास गरिदिए । तर, अहिले उनले मलाई यसरी धोका दिन्छिन्, भन्ने मलाई लागेको थिएन । उनले मसँग कुरा हुँदा पनि मलाई बाँचुन्जेल साथ दिने भनि विश्वास दिइनँ । मैले पनि होला भनेर नै जग्गा पास गरिदिए । तर, मलाई अहिले उठीबास लगाइन् । ’यस्तै उनले आफूले पास गरिदिएको जग्गा बाबा फर्ममा धितोमा राखेर १६ र १७ लाख ऋण लिएको भन्ने कुराको जानकारी पाएको समेत बताए । उनले भने,‘ जग्गा पास गरेपछि उनी मेरो सम्पर्कमा आइनन् । त्यसपछि मैले आफू ठगिएको भनेर प्रहरीमा उजुरी दिएको छु । उनलाई प्रहरीले पक्राउ पनि गरेको छ । ’
उनका अनुसार कमलासँग शुरुमा आफ्नो भेट गराउने गीता सुनार थिइन् । उनीसँग चिनजान भएको हुँदा उनको माध्यमबाट आफूले कमलासँग शुरुमा फोनबाट चिनजान गरेको र पछि कुराकानी गर्दै जादा भेटघाट भएको पनि बताए । उनले भने,‘ दैनिक सयौँ मिनेट हाम्रो फोनमा कुराकानी भइरहन्थ्यो । हप्तामा २ र ३ पटक भेट हुन्थ्यो । म तपाईँलाई साथ दिन्छु, तपाईँलाई पाल्छु भन्ने जस्ता कुरा हुन्थ्यो । भेटमा पनि त्यही कुरा हुन्थ्यो । जसले गर्दा मलाई उनको धेरै विश्वास लाग्यो । ’ यस्तै उनले जग्गा मात्र नभइ नगद र सुन समेत दिएको बताए । उनका अनुसार जग्गा पास गर्दा लगायत अन्य समयमा गरेर एक लाख बढि नगद र सुनको औंठी समेत दिएका थिए । जग्गा पास गर्दा कमलासँग पैसा नहुँदा आफूले ऋण ल्याएर पैसा दिएको समेत उनको भनाइ छ । उनको श्रीमतीको करिब १० वर्ष पहिले निधन भएपनि आफूलाई पाल्ने मान्छेको आवश्यक परेको हुँदा कमलाको माया जालमा फसेको पनि बताए ।
उनले भने,‘ मेरा छोराछोरी, बुहारी छन् । तर, म अहिले एक्लै बस्दै आएको छु । मलाई बुढेसकालमा साथ दिन मान्छेको आवश्यक थियो । उनले पनि मलाई पाल्छु, भन्दै आएकी थिइन् । तर, यसरी नै ठग्छिन् भन्ने लागेको थिएन । अहिले म न घरको न घाटको भएको छु । अब मेरो बस्ने ठाउँ छैन् । भएको सम्पत्ति अर्कैको नाममा गरिदिए पनि मलाई छोराछोरीले पनि अब हेर्दैन । अब त्यो जग्गा पाएन, भने म मर्नुको विकल्प छैन् ।’ यस्तै उनले अहिले आफ्नो जग्गाको मूल्य करिब ५÷७ लाख प्रतिकठ्ठा मूल्य रहेको पनि बताए ।
यस्तै कमलाका २ वटी छोरीहरू रहेको र पहिलाको श्रीमानसँग डिभोर्स दिनको लागि अदालतमा मुद्दा दिएको र त्यो फैसला भएपनि आफूसँग विवाह गर्ने भनेर आश्वासन दिएर आफूलाई ठगेको पनि उनको आरोप छ । उनले अब आफूलाई आफ्नो जग्गा चाहेको पनि बताए । उनले भने,‘ म सोझो मान्छेलाई यसरी जालझेल गरेर फसाई । मैले यस्तो होला, भनेर उनीसँग माया पनि गरेको थिएन । अहिले पछुतो लागेको छ । मैले म अशक्त हुँदा उपचार गर्नको लागि बचाएको सम्पत्ति सबै दिएको छु । अब मलाई कसले हेर्ला र ? ’ अब अन्त गएर काम गर्ने अवस्था पनि नभएको र भएको सम्पत्ति अर्कैको नाममा गरिदिँदा आफूलाई कसैले नहेर्ने उनको भनाइ छ ।
२७ फाल्गुन २०७९, शनिबार
प्रतिक्रिया