अन्तर्राष्ट्रिय

के अमेरीकामा जस्तै नेपालमा पनि बैक डुब्ने खतरा छ ?




काठमाडौं ३० फागुन। संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा एकपछि अर्को बैंक डुबेको खबरले विश्वकै बैंकिङ क्षेत्रमा तरंग ल्याएको छ । नेपालमा पनि बैंकहरु डुबेको विगत भएकाले अहिले सर्वत्र त्रास बढेको छ ।अमेरिकामा हालसम्म ३ वटा बैंक डुबेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा सिल्भरगेट, सिलिकन भ्याली र सिक्नेचर बैंक रहेका छन् ।यो खबरबीच नै नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा जारी गरेपछि नेपालको बैंकिङ क्षेत्रमा समेत शंका पैदा भएको छ ।

तर, राष्ट्र बैंकले नेपालका बैंकहरुलाई जोखिममा पर्न नदिन पूर्वसावधानीको रुपमा अन्तिम ऋणदाता सुविधालाई लिएको स्पष्ट पारेको छ ।राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश श्रेष्ठले बैंकहरु संकटमा पर्न लागेको नभई सावधानी अपनाएको बताए ।
करिब नौ महिनाको तयारीपछि अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली ल्याएको उनको भनाइ छ ।नेपालको बैंकिङ क्षेत्रमा पनि केही समयदेखि ऋणीहरुले ब्याजदर घटाउन दबाब दिइरहेका छन् । केहीले बैंकको ऋणसमेत नतिर्ने भनिरहेका छन् । नेपालको इतिहासमै बैंकिङ क्षेत्रविरुद्ध ऋणीहरु सडकमै उत्रिएको पहिलो पटक भएको विज्ञहरु बताउँछन् ।पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल अमेरिकामा जस्तो नेपालको बैंकमा समस्या नआउने दाबी गर्छन् । अमेरिकामा डुबेका बैंकहरुले क्रिप्टोकरेन्सी र घरजग्गामा बढी लगानी गरेकाले समस्या भएको उनको तर्क छ ।नेपालमा पछिल्लो समय मर्जरका कारण बैंकहरुको जोखिम बहन गर्ने क्षमता बढेको उनको बुझाइ छ ।

‘पूँजी वृद्धि नगरेको भए समस्या आउन सक्थ्यो’, पूर्वगभर्नर नेपालले भने, ‘तर, अहिले एउटै बैंकको पूँजी ३० अर्बभन्दा माथि पुगिसकेको छ ।’उनका अनुसार नेपाली बैंकहरुमा खराब कर्जाको समस्या बढे पनि अन्य अवस्था मजबुत छ । ऋण लिएर पैसा खान्छु भन्ने नजिर विश्वमै नभएकाले ऋण तिर्दिनँ भन्नेहरुले पनि ऋण तिर्नैपर्ने डा। नेपाल बताउँछन् ।यसअघि नेपालमा १८ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त थिए । ती संस्था सुधार्न राष्ट्र बैंकले समस्याग्रस्त रिजोलुसन महाशाखा नै गठन गरेर काम थालेको पूर्वगभर्नर डा। नेपाल बताउँछन् ।‘नेपालमा पनि बैंक डुबेको थियो । मेरो पालामा समस्यामा परेका सबै बैंकका समस्या समाधान गरिएको थियो’, उनले भने, ‘तर, अब यस्तो अवस्था आउँदैन ।’
खराब कर्जा २.३५ प्रतिशत
:
राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब १७ अर्ब कर्जा लगानी गरेका छन् । यसमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरुको छ । वाणिज्य बैंकहरुले ४७ खर्ब ४७ अर्ब कर्जा लगानी गरेका छन् । जसमा १ खर्ब ११ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ खराब कर्जा रहेको छ ।चालू आर्थिक वर्षको ६ महिना (पुस मसान्त) सम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा २।३५ प्रतिशत हो । यसबीचमा बैंक तथा वित्तीय संस्थाहरुले ५३ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका छन् ।एनएमबी बैंकका सीईओ सुनिल केसीले आर्थिक मन्दीका कारण कर्जा उठाउन समस्या भएको प्रतिक्रिया दिए ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६