भुपाल थापा,
कपिलबस्तु १४ चैत्र । पर्यटकिय क्षेत्रको बृहत्तर बिकासका लागि उपयुक्त गुरुयोजना बनाइनुपर्नेमा होटल तथा पर्यटन ब्यवसायीहरुले जोड दिएका छन् । कपिलबस्तु खुल्ला संग्रहालयका रुपमा रहेता पनि यहाँका पूरातात्विक तथा पर्यटकिय क्षेत्रहरुको बिकास र बिस्तारका लागि उपयुक्त गुरुयोजना बनाइनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।होटल तथा पर्यटन ब्यवसायी संघ कपिलबस्तुको प्रथम साधारणसभा तथा अधिवेशनको अवसरमा सहभागी ब्यवसायीहरुले पर्यटन बिकासका लागि सबै तहका सरकारबीचको समन्वय आवश्यक रहेको तर्क गरेका छन् । होटल ब्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य भेषराज कँडेलले होटल तथा पर्यटन ब्यवसायीहरुका सवालमा सरकार उदासिन रहेको जिकिर गरे । उनले बर्तमान आर्थिक संकुचनका कारण ब्यापार, ब्यवसाय चलायमान गर्न असहज स्थिति पैदा भएको तर्फ इंगित गर्दै राज्यले पर्यटन ब्यवसायीहरुको हकहित र अधिकारका निम्ति अभिभावकत्व भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
जिल्ला समन्वय समिति, कपिलबस्तुका सभापति बाबुराम आचार्यले जिल्लाका पर्यटकिय क्षेत्रको प्रवद्र्धनका लागि सहकार्यताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटन बिकासमा उचित योजना बनाएर ब्यवसायिक क्रियाकलाप संचालन गर्नुपर्नेमा आचार्यको भनाइ छ । आचार्य भन्छन्, “तपाईहरु मर्यादित तवरले ब्यवसायिक क्रियाकलाप चलाउनुस्, पर्यटकलाई टिकाउने तवरको सेवा प्रवाह गर्नुस्, जिल्ला समन्वय तपाईको साथमा छ।”बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्यालले बाणगंगा सहित जिल्लाभरका होटल तथा पर्यटन ब्यवसायीहरुका सवालहरुमा गम्भिर रहेको बताए । आफ्नो चुनावी प्रतिबद्धतापत्रमा उल्लेख भएअनुसार नै यहाँका होटल तथा पर्यटन ब्यबसाय २४सैं घण्टा संचालनमा ल्याउनेमा प्रयत्नरत रहेको र योजनागत रुपमा लाग्ने अर्यालले बताए ।
घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सचिव भेषराज पाण्डेले जितपुरसहित बाणगंगा क्षेत्रका होटल ब्यबसायहरु अनुशासित तवरले संचालनमा आउनुपर्ने बताए । जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने होटल तथा पर्यटन ब्यबसाय अनवरत सुचारु हुनुपर्नेमा पाण्डेले तर्क गरे ।कार्यक्रममा होटल ब्यवसायी मञ्च गुल्मी, सैनामैना होटल ब्यबसायी संघ, पाल्पा होटल ब्यबसायी संघ, उद्योग ब्यापार संघ कपिलबस्तु, कपिलबस्तु उद्योग बाणिज्य संघ, कपिलबस्तु मदिरा ब्यबसायी संघ, घरेलु तथा साना उद्योग महासंघ कपिलबस्तु, बिभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रमुख, उद्योगी ब्यवसायी लगायतले पर्यटन क्षेत्रको बिकासका लागी सरोकारवाला सबै लाग्नुपर्ने र उपयुक्त रोडम्याप बनाउनुपर्ने बताए । यी सबैका निम्ती होटल तथा पर्यटन ब्यवसायीहरु समेत समन्वयात्मक हिसाबले लाग्नुपर्नेमा जोड दिएका छन् ।संघका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, कपिलबस्तु मदिरा ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संघका महासचिव रोमलाल पौडेलले गरेका थिए ।
कार्यक्रमस्थलमा भैरव चस्मा पसल तथा आँखा उपचार केन्द्र जीतपुरले निशुल्क आँखा जाँच समेत गरेको थियो । ३५ भन्दा बढिले आँखा जाँच गराएकोमा ३० जनालाई जाँचपश्चात थप आँखामा समस्या देखिएकाले रिफर गरिएको संचालक सन्दिप भट्टराइले बताए ।यसैबीच, पत्रकार हरि घिमिरेलाई होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले नगदसहित सम्मान गरेको छ । संघको पहिलो साधारण सभा तथा अधिवेशनको क्रममा पत्रकार घिमिरेलाई नगद १० हजार र सम्मान पत्रले सम्मानित गरिएको हो । संघका प्रेस सल्लाहाकार समेत रहेका घिमिरेले पत्रकारिताको माध्यमबाट समाज विकासमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए ।
१४ चैत्र २०७९, मंगलबार








प्रतिक्रिया