अर्थ-वाणिज्य

५ जिल्ला जोड्ने राष्ट्रिय प्राथमिकताको सडक बन्न १ सताब्दी लाग्ने संकेत : १३ बर्षमा १९ किमी मात्र निर्माण




कपिलवस्तु १८ चैत्र । सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने निकै सुस्त छ । २०६६ सालदेखि निर्माण सुरु भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको हालसम्म १९ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो सडकको कुल लम्बाई १८५ किलोमिटर रहेको छ । ५ जिल्ला जोड्ने १८५ किमी सडक यहि गतिमा निर्माण हुने हो भने पुरा हुन १ सताब्दी लाग्ने भएको छ ।
रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र वाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडक पर्यटन प्रवर्द्धनका लागि निर्माण सुरु गरिएको हो । उक्त सडकको केही खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको छ । यो सडक विस्तारको काम श्रेष्ठ गल्वा क्यारभान जेभीले गरिरहेको छ । आठ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५÷४० करोडमात्रै बजेट विनियोजन भएको छ । १३ वर्षको अवधिमा करिब तीन अर्ब रुपियाँ खर्च भएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा ३५ करोड र थप आठ करोड बजेटको काम सकिएको छ भने यो वर्ष ४० करोड बजेट विनियोजन भएको छ । यो सडक अन्तर्गत पर्ने पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छ । बागलुङ जिल्लामा पर्ने बहुला बाँस खोला र दो खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको परियोजनाका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले बताउनुभयो । बाँकी पुल भने निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । सन्धिखर्कमा विवाद भएका कारण पाँच सय मिटर कच्ची सडकको काम रोकिए पनि अन्यत्र कुनै रोकावट छैन । सुरुमा यही विवादले गर्दा परियोजनाको काममा ढिलाइ भएको थियो । पछि टुक्राटुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले गति लिन नसकेको हो ।
सालझण्डी–ढोरपाटन सडक परियोजना कार्यालयकी प्रमुख इन्जिनियर अन्जु परियारले बजेटकै कारण निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो । खुसार्नेदेखि कन्चन खोलासम्म १३ किलोमिटर र बागलुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्का हुन् । बहुवर्षे ठेक्कामा जति काम ग¥यो, उति रकम लैजाने भएकाले परियोजनालाई दबाब दिन कठिन हुन्छ । यस्तै, खुसार्नेदेखि पटौटीसम्मको पनि ठेक्का लागेको छ । पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने बताइएको छ । यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न सहज हुनेछ । यस्तै, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : १८ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६