कपिलवस्तु ९ वैशाख ।बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले अहिले ग्यास बिस्फोटका समस्या दिनानुदिन बढिरहेको हुँदा ग्यास बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्ने बताउनु भएको छ । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालले आयोजना गरेको तेश्रो वार्षिक साधारण सभालाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । हाल सङ्कटमा परिरहेको देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि ग्यास बिक्रेता संघ जस्ता निजि क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । ग्यास बिक्रेता संघले आफ्नै भवन निर्माणको लागि गरेको अनुरोधलाइ सम्मान गर्दै उपयुक्त जग्गा हेरेर नगरपालिकालाइ खबर गरे त्यसको लागि कानुनी रुपमा नगरले सहयोग गर्ने मेयर अर्यालले प्रतिवद्धता जनाउनु भयो । उहाँले अरुको आश्रयमा व्यवसाय संचालन गर्न नहुने बताउँदै आ अफनो भान्साको सुरक्षा आफैले पनि गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज राम प्रसाद ज्ञवालीले व्यवसाय गर्ने निजि क्षेत्रहरु मध्ये ग्यास बिक्रेता संघ सबैभन्दा कम मुनाफा कार्य व्यवसाय गर्ने सस्था रहेको हुँदा सुरक्षा निकाय र प्रशासनले सहज वातावरणमा काम गर्न दिन आग्रह गर्नुभएको थियो ।यसैगरी महासंघ नेपालका केन्द्रिय महासचिव लाल बहादुर केसीले ०७९ साल व्यवसायीहरुका लागि उत्साह जनक नभएको बताउँदै आम उपभोक्ताहरुका निम्ति धेरै कामहरु भए पनि उपलब्धि मुलक नभएको बताउनु भयो । ९० प्रतिशत भन्दा बढी घटनाहरु उपभोक्ताहरुले नजानेर घट्ने भएको हुँदा यसलाई निराकरण गर्न सबै लाग्न जरुरी भएको बताउनु भयो । उहाँले आम नागरिकहरुलाई सचेत बनाउन मिडियाको समेत अहम भूमिका रहने बताउनु भयो ।
त्यस्तै ग्यास बिक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्तले ग्यास बिक्रेता संघहरुले आफ्नो सस्थाको लागि मात्र नभएर अब उपभोक्तालाइ मध्यनजर गर्दै व्यवसाय सन्चालन गर्नुपर्ने बताउनु भयो । गाउँघरमा नेपाल सरकारले पठाएको हो भन्दै बिचौलियाहरु घरघरमा पुगेर गुणस्तर हिनका रेगुलेटर पाईप लगाएतका सामाग्रीहरु बाट उपभोक्ताहरु मारमा परेको हुँदा उपभोक्ताहरु सचेत हुन आग्रह गर्नु भयो ।ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष राम प्रसाद गैरेले कार्यपत्र प्रस्तुत गर्दै बिगत तिन बर्षदेखि बिभिन्न समस्याहरु भोग्दै आएको बताउनु भयो । साथै उहाँले आगामी कार्ययोजनाहरु प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्लामा व्यवसायीहरुलाई संगठित गर्दै बैज्ञानिक रुपमा व्यवस्थापन , सहजीकरण , तालिम तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताउनु भयो ।
यस्तै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले व्यवसायी संघले समाज परिवर्तन गर्नुपर्ने बताउनु भयो । खरिद ग्यास सिलिण्डर उपभोक्ताहरुले गुणस्तरिय भएनभएको जान्न र बुझ्न अत्यन्तै जरुरी भएको बताउनु भयो । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरु जोखिममा रहेको बताउँदै जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको बताउनु भयो ।नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले ग्यासचुलोलाई स्थानीयतहले निती तथा कार्यक्रम मार्फत पारित गरी सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । उपभोक्ताहरुले प्राप्त गर्ने अधिकार सहजरुपमा प्राप्त गर्नुपर्ने बताउँदै राज्यले दिनुपर्ने सुबिधाबाट कोही पनि नागरिक बञ्चित हुन नदिनका लागि नगर भित्रका ग्यास व्यवसायीहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा नगर संवेदनशील हुनु पर्ने उहाँको भनाई रहेको थियो ।
देशभरिका एलपी ग्यास व्यवसायीहरुको समूहिक एक्यवद्धता आत्मनिर्भर र व्यवस्थित कारोवार हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालको तेश्रो बार्षिक साधारण सभा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश उपमहानगर पालिका रुपन्देहीको आयोजना र कपिलवस्तु एलपी ग्यास व्यवसायी संघ बाणगंगा नगरपालिका जितपुरको सह आयोजनामा श्रृङ्गिघाट कुलापानीको सभाहलमा सम्पन्न भएको हो ।कार्यक्रममा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता , संघका बरिष्ठ उपाध्यक्ष नारायण नेपालको स्वागत तथा महासंघका महासचिव हरि प्रसाद अधिकारीको संचालनमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका ग्यास व्यवसायी संघका प्रतिनिधिहरु , समाज सेवी , नागरिक समाज , सुरक्षाकर्मी र संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया