ब्रेकिंग न्युज

आज अक्षय तृतिया : सातु खाने पर्व मनाइदै




कपिलवस्तु १० बैशाख । आज वैशाख शुक्ल पक्षको तृतीया तिथि जसलाई अक्षय तृतीया भनिन्छ। क्षय अर्थात् नाश नहुने भएकाले यसलाई अक्षय भनिएको हो। आज जसले पूजा पाठ, तीर्थव्रत , दान दक्षिणा गर्दछ उसले गरेको कर्मको फल सदैव अक्षुण्ड रहन्छ भन्ने धार्मिक विश्वास रहेको छ। भगवानको छैठौं अवतार स्वरूप आज त्रेता युगमा भगवान परशुरामको जन्म भएकाले परशुराम जयन्तीका रूपमा मनाइन्छ भने आजैका दिन द्वापर युगको अन्त्य भई त्रेता युगको आरम्भ भएकाले त्रेता युगादि पनि भनिन्छ । त्यस्तै आज सातु र सर्वत खाने दिनका रूपमा पनि चिनिन्छ।पृथ्वीमा पापी मानिसको संख्या बढी हुनाले आफूलाई कष्ट हुने सम्झी गंगा स्वर्गमै बस्न चाहेको तर भगीरथ राजाको अनुनय विनयमा गंगा नदी पृथ्वीमा अवतरण गरेको दिन पनि आजैको दिन थियो। कौरब र पाण्डव विचको युद्ध सकिएको अर्थात् युद्ध विराम भएको दिन तथा वेदव्यास र भगवान श्रीगणेशले महाभारतको ग्रन्थ लेखन आरम्भ गरेको दिन पनि आजै थियो।
भारतको उत्तराखण्डमा अवस्थित बद्रीनाथ र वृन्दावनमा रहेको बाँके बिहारीजीको मन्दिरमा आज भगवान् स्वयं प्रत्यक्ष दर्शन दिनुहुन्छ भन्ने विश्वासले आजैका दिनमात्र द्वार अर्थात् ढोका खोल्ने गरिन्छ। भगवान श्रीविष्णुको प्रिय महिना वैशाख हो र वैशाखलाई माधव मास पनि भनिन्छ। माधव भनेको श्रीविष्णुकै नाम हो। वैशाख महिनाको शुक्ल पक्षको तृतीयामा श्रीविष्णुको खुसीका लागि लक्ष्मीमाता सजिएर बस्ने हुनाले आज लक्ष्मी मातालाई सजाउने तथा पूजा अर्चना गरि खुसी तुल्याउने हो भने घरमा सदैव लक्ष्मीको बास हुन्छ भन्ने मान्यता पनि रहि आएको छ।
वैशाख शुक्ल पक्षको रोहिणीयुक्त तृतीया तिथि आफैमा शुभ मुहूर्त भएकाले आज विवाह गर्न,शुभ कर्म गर्न, नयाँ कार्यको थालनी गर्न कुनै साइत जुराउन नपर्ने पनि भनिएको छ। भगवान शिव र माता पार्वतीको विवाह पनि आजैका दिन भएको प्रसंग शास्त्रमा उल्लेख छ।सातु र सर्वत खाने प्रचलन खासगरी वैशाख महिना अत्यन्तै गर्मी महिना भएकाले चिनी,सख्खर, गुँड ,खुदो राखेर बनाइएको सर्बत शरीरका लागि अत्यन्तै हितकर हुने र गर्मीमा जीर्ण भएको शरीर जौको सातु खानाले विशेष उर्जा दिने भएकाले सातु र सर्वत आध्यात्मिक प्रसंगले मात्र नभई वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्त्व रहेको छ। अन्नहरूमा राजा र बहुउपयोगी जौ औषधिको रूपमा प्रयोग हुन्छ । यसको सेवनले शरीरमा निकै फाइदा पुर्‍याउने कुरा योग पतन्जलीमा बताइएको छ।
किंवदन्ती अनुसार एकजना ॠषि वैशाखको टन्टलापुर घाममा हिंडेको देखेर एउटा परिवारले बोलाई जौको सातु र सर्वत बनाई खान दिएको र ॠषिलाई घाममा हिंड्न गाह्रो भएको होला भनी खराउ र ओढ्न छाता तथा दक्षिणा समेत दिई प्रशन्न पार्दा ॠषि खुसी भई आज जसले यसरी बटुवालाई आमन्त्रण गरी जल तथा अन्न दान गर्ला, छाता जुत्ता र दक्षिणा दान गर्ला उसलाई कहिल्यै विपत्ति पर्ने छैन र जे कुराको मनमा अभाव होला त्यो मनोकांक्षा पूर्ण होला भनी आशीर्वाद दिएको हुनाले आजको दिन सातु र सर्वत खुवाउने प्रचलन चलेको हो भन्ने विश्वास छ ।उक्त दिन अक्षय तृतीया भएको हुँदा उसले गरेका पुण्य कर्म कहिल्यै क्षीण हुने छैन भनी आशीर्वाद पाएको हुँदा ॠषीलाई आदर सत्कार गर्ने परिवारमा सधैंका लागि दरिद्र नाश भइ लक्ष्मीको बास अखण्ड रहेको भन्ने जनश्रुति छ । एष धर्मघटो दत्तो ब्रह्मा विष्णु शिवात्मकस्। अस्यप्रदानातृप्यन्तु पितरो प्रपितामहा ।

गन्धोदकं तिलैर्मिश्र सान्नकुम्भं फलान्वितम्। पितृभ्यस् सम्प्रदास्यामि अक्षयं भवतु सदा ।। आज नदी स्नान,दान,जप,तप ,पितृतर्पण र छाता,जुत्ता,पंखा,जलले भरिएका घडा,अमखोरा आदि तथा दक्षिणा दान गर्नेलाई अक्षय फल र स्वर्ग प्राप्त हुन्छ। गंगाले पृथ्वीमा पापी मानिस बढी हुनाले आफूलाई निकै कष्ट हुने सम्झी स्वर्गमै बस्न चाहेको तर भगीरथ राजाको विशेष अनुरोधमा गंगा पृथ्वीमा अवतरण गरेको दिन पनि आजकै दिन थियो। हरेक प्राणीको जीवन जल र अन्नमा धानिएको हुन्छ ,अन्न र जल विनाको जीवन हुन सक्दैन भन्ने स्मरण गर्ने दिन पनि आजैको दिन हो।

साउनमा हरिया मकै , मंसीरमा नवान्न भन्दै न्वागी नाग देवता , भूमि भयँर र देवता तथा कुलपितृलाई अर्पण गरेर मात्रै खान शुरूवात गरिन्छ त्यस्तै चैत वैशाखमा भर्खरै मात्र गहुँ,जौ लगायत अन्न भित्र्याइन्छ ,त्यो देवता तथा बाटोमा हिँडेका बटुवालाई अर्पण गरेर मात्रै आफूले खाने यो एक किसिमको वैदिक प्रचलन पनि हो। यस हिसाबले पनि यो सातु र सर्वतको आफ्नै खालको महत्त्व छ। परशुराम जयन्ती परशुराम भगवान श्रीविष्णुको छैठौं अवतार हो। त्रेता युगमा ॠषि जमदग्नि र माता रेणुकाको पुत्रको रूपमा जन्मिएका परशुरामको खास नाम राम नै थियो ,भगवान शिवजीका प्रिय शिष्य भएकाले शिवजीले अत्यन्तै खुसी भई अन्यायका विरुद्ध लड्न भनी परशु अर्थात् बन्चरो दिनु भएको थियो। त्यही परशुधारी भएकाले उनलाई परशुराम भनिएको थियो। परशुराम अष्टचिरन्जीवी मध्ये एक हुन्। उनी सत्य ,त्रेता,द्वापर, कलि चारै युगमा जीवित मानिन्छन्।सत्य युगमा शिवका शिष्य,त्रेतामा स्वयं परशुराम अवतार ,द्वापरयुगमा भगवान श्रीकृष्णलाई सुदर्शन चक्र नै यिनैले दिएको प्रसंग छ। महावीर भीष्म,कर्ण र द्रोर्णका गुरु नै परशुराम थिए। अहिलेको कलि युगमा पनि परशुराम भगवान शिवजीको आराधना सहित उत्तरी हिमशृंखला मन्दार पर्वतमा तपस्या गरिरहेका छन् र अन्याय अत्याचारीका विरूद्धमा समय समयमा रूप धारण गर्छन् भन्ने मान्यता छ। त्रेता युगका परशुराम अत्यन्तै पितृभक्त थिए। परशुरामकी माता रेणुका गंगा स्नान गर्न जाँदा एकदिन गन्धर्व र स्वर्गका अप्सराहरूले जलक्रीडा गरेको देखिन् र रङ्ग मान्दै धेरैबेर हेरिरहिन्।

यता पति ॠषि जमदग्निले किन बिलम्ब गरिन् भनी ध्यान दृष्टिले हेर्दा गन्धर्व र अप्सराको रतिरागयुक्त जलक्रीडा हेरेर रमाएको देखि रिसाए र आफ्ना छोराहरूलाई बोलाएर यस्ती नारीहरू व्यभिचारी हुन्छन् ,यस्तालाई घरमा राख्नु हुँदैन। यस्ता नारीहरूबाट धर्मको रक्षा नहुने हुनाले मारिदिनु पर्छ भन्दै छोराहरूलाई आमालाई मार्न आदेश दिए। चार भाइ छोरा मध्ये जेठा,माहिला र साँहिला ती तीन भाइ हिच्किचाए। हुन पनि जन्म दिने आमाको हत्या गर्नु चानचुने कुरा थिएन तर कान्छा परशुरामले पिताको आज्ञा भन्दै आमालाई काटिदिए अनि पिताकै आज्ञा अनुसार तीन दाजुभाइको हत्या गरे। आफ्नो वचन पूरा गरिदिएकोमा अति प्रशन्न हुँदै छोरा परशुरामलाई वर माग्न अनुरोध गरे। तपस्वी आफ्ना पिताको सामर्थ्य बुझेका परशुरामले तुरुन्तै आमा र दाइहरूलाई व्युँताइदिन आग्रह गरे र उनीहरू आफू मरेको कहिल्यै महसुस नगरून् भन्ने वर मागे र जमदग्निले तथास्त्तु भन्नासाथ सबै जीवित भए।

यसरी परशुराम पिताको आज्ञापालक र उत्तिकै मातृभक्त पनि थिए। यद्यपि पिताको आज्ञाकारी भए पनि आमाको हत्या गर्नु शास्त्रसम्मत कुरा थिएन यसको प्रायश्चित्त गर्ने अभिप्रायले परशुराम विभिन्न पवित्र तीर्थस्थलतर्फ गएका थिए। त्यही समयमा सहस्रार्जुन नामका राजा घुम्दैफिर्दै जमदग्नि ॠषिको कुटीमा पुगे। विशाल सैन्यसाथ पुगेका राजालाई ॠषिले भव्य स्वागत गरे अनि अनेकौं परिकारद्वारा सन्तुष्टि तुल्याए। एउटा सामान्य ॠषिकोमा भएको भव्य स्वागतले राजा दङ्ग परे र यसको राज इच्छा गौमाता भएको कुरा थाहा पाए। जमदग्नि ॠषिकोमा एउटी यस्ती कामधेनु गाई थिइन् कि जे माग्यो त्यही दिन्थिन्। गाई देखेपछि राजा लोभिए र यस्ती गाई त जोगीकोमा होइन राजाकोमा हुनुपर्छ भनेर मागे तर ॠषिले दिएनन् ,नदिएपछि राजाले जबर्जस्ती गाई तानेर लगे।लामो तिर्थाटन पछि परशुराम फर्कदा राजाले गाई लगेको थाहा पछि रिसले चुर भएका उनी लड्न पुगे।

हैहयवंशी सहस्रार्जुनको नाम पहिले अर्जुन थियो , गुरु दत्तात्रेयलाई खुसी पारेका अर्जुनले सहस्र अर्थात् हजार हात पाएका थिए त्यसैले राजालाई सहस्रार्जुन भनिथ्यो। उनी निकै पराक्रमी र बलिया थिए। परशुराम र सहस्रार्जुनको घमासान युद्ध भयो अन्त्यमा सहस्रार्जुनका हजारौं हात छिन्नभिन्न पार्दै शिर नै काटेर फ्याँकिदिए साथै लाखौं सेनाहरू हताहत भए। त्यतिबेला मुश्किलले युवराजहरू बचेका थिए। युद्ध जितेर गाई आश्रममा ल्याएपछि जमदग्निले शत्रुमाथि विजयी हासिल गर्नु राम्रो कुरा भए पनि राजाको हत्या गर्नु महापाप भएको बताए। पिताका कुरा सुनेपछि पापमोचनका लागि परशुराम तपस्या गर्न गए। परशुराम नभएको मौका पारी यता युवराज जो भर्खरै सत्तामा बसेका थिए तिनले वदलास्वरूप जमदग्निको शिर काटेर लगे।
परशुरामले थाहा पाएर राज्यमा आक्रमण गरी क्षत्रीय राजवंश नै ध्वस्त पारे अनि आफ्ना पिता जमदग्निको शिर ल्याएर मृत शरीरमा जोडी ब्युँताए अनि सप्तर्षिमध्ये एक बने जमदग्नि। यसरी मृत शरीर,काटिएको शिर पनि जोडेर पुनर्जीवित पार्न सक्ने परशुराम सत्यवर्ती र सामर्थ्यवान थिए।ठूलो योगबलद्वारा राज्य प्राप्त भइसकेपछि राजाहरू बिस्तारै भोगविलासले गर्दा क्रुर बन्दै जान्छन् र जनताको हितमा भन्दा पनि आफ्नो स्वार्थमा लागि जनतालाई,योगी तथा विद्वानहरूलाई दुस् ख दिन्छन्,यस्ता अन्यायी,अत्याचारी, भ्रष्टहरूलाई समुल नष्ट गर्नुपर्छ भन्ने परशुरामको दृढ विश्वास थियो। उनी ब्राह्मण जातिका थिए र स्वभाव क्षत्रीयको थियो र क्षत्रीयबाट हुनसक्ने जुनकुनै अत्याचार विरूद्ध उनी लड्थे। उनी २१ पटकसम्म सिंगो पृथ्वी घुमी अत्याचारीहरूको लेस समेत नरहने गरि विलय गरेका थिए।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६