अर्थ-वाणिज्य

सास्कृतिक डवली बनेको एक वर्ष भएपनि किन संचालनमा आएन ?




पाल्पा २२ बैशाख। तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माण सम्पन्न भएको एक वर्षमा पनि सञ्चालनमा आउन सकेको छैन । सांस्कृतिक डबली कसले सञ्चालन गर्ने भन्ने निर्णय हुन नसक्दा निर्माण सम्पन्न भएको झण्डै एक वर्षमा पनि डबली सञ्चालनमा आउन नसकेको हो ।जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सांस्कृतिक प्रदर्शन गरेर आकर्षित गर्न उद्देश्यका साथ गत २०७९ असारमा छ करोड ८१ लाख लागतमा खुल्ला नाचघरको निर्माण सकिएको थियो । तर डबली निर्माण भएको नौँ महिनामा पनि सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दाको भनाई छ । ‘डबली निर्माण भएको नौँ महिना भइसक्यो तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन तानसेनस्थित कैलाशनगरका स्थानीय बासिन्दा बलबहादुर रानाले भन्नुभयो यस्तै राख्ने हो भने बनेका संरचना बिग्रिने अवस्था बन्यो ।’
सांस्कृतिक डबली सञ्चालन गर्न तानसेन नगरपालिकाले चासो देखाएपनि प्रदेश सरकारबाट हस्तान्तरणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सांस्कृतिक डबली सञ्चालन भएको अवस्थामा पाल्पामा आएका पर्यटकलाई आकर्षित गर्न सकिने नगरपालिकाको भनाई छ । यद्यपी प्रदेश सरकार हालसम्म पनि स्पष्ट योजनाका साथ अघि बढ्न नसकेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो । ‘प्रदेश सरकारको लगानीमा बनेको संरचना सकिएको एक वर्ष बित्न लाग्यो उहाँले भन्नुभयो तर अहिलेसम्म कसले कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट जानकारी छैन ।’
निर्माण सकिएको लामो समयसम्म डबली सञ्चालनको प्रक्रिया अगाडि नबढ्दा नगरपालिका समेत अन्यौलमा परेको छ । डबली सञ्चालन गर्नेबारे प्रदेश सरकारबाट निर्णय हुन ढिलाई भइरहेको नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगरभित्र सांस्कृतिक डबली बन्नु खुसीको कुरा भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा बनेको संरचना बिग्रने अवस्था बनेको उहाँले बताउनुभयो ।वि।स। २०७७ असार देखि सुरु भएको सांस्कृतिक डबली निर्माण सम्झौँताको म्याद भन्दा एक वर्ष ढिला गरी सकिएको थियो । डबली निर्माण सकिएको लामो समयसम्म सञ्चालन नहुँदा स्टेडियमको छाना समेत हावाले उडाएको छ । यस्तै अन्य संरचनाहरूसमेत फोहोर बनेको स्थानीय बासिन्दाको भनाई छ । बनिसकेका कतिपय संरचनामा झार उम्रिएर कुरुप देखिएको छ ।
लुम्विनी प्रदेश सरकार मातहत रहेको पर्यटन डिभिजन कार्यालय भैरहवाले भने पाल्पा दरबार सङ्ग्राहलयले सञ्चालन गर्नेबारे कुराकानी भइरहेको जनाएको छ । डिभिजन कार्यालय भैरहवाका सूचना अधिकारी विनोदकुमार पौडेलले पाल्पा दरबार सङ्ग्राहलयले सञ्चालन गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।
सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ् स्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा तयार गरिएको छ । डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घर पनि बनेको छ । डबलीभित्र बसेर ५०० जना मानिसहरूले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुती अवलोकन गर्न सकिने पूर्वाधार बनेको छ ।

प्रकाशित : २२ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६