काठमाडौँ, २५ कात्तिक
राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिनुभएको योगदान स्मरणीय रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन योगदान पुगेको बताउनुभएको छ । “किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गर्नु भएको राष्ट्रपतिको सन्देशमा जनाइएको छ । राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सम्पूर्णमा सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा एवं समाज सुधारको अभियानमा सक्रिय भइरहन थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।









प्रतिक्रिया