दाङ २३ वैशाख ।दाङको राप्ती गाउँपालिकामा रहेका सहकारी संस्थाहरूको अनुगमन गर्न थालिएको छ ।राप्ती गाउँपालिका र नेफ्सुनको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको अनुगमन गर्न थालिएको हो । पछिल्लो समय सहकारी संस्थाहरूबाट निक्षेपकर्ताहरू ठगिन थालेपछि राप्ती गाउँपालिकाले नेफ्सुनको सहकार्यमा अनुगमन गर्न थालेको सहकारी शाखा प्रमुख शेर बहादुर हमालले जानकारी दिएका छन् ।गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था, दर्ता प्रकृया, सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई परिपालना गरेको नगरेको, सहकारीको अभिलेख व्यबस्थान बारे सहकारी भित्रका सबै पक्षमा शुसासन भए नभएको बारेमा अनुगमन गर्ने गरेको शाखा प्रमुख हमालले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा कतिपय सहकारीहरूको विधान संशोधन गर्नु पर्ने, दर्ता नविकरण जस्ता समस्या रहेको छ ।अनुगमन टोलीले सहकारी संस्थाहरूलाई आर्थिक पाटोलाई पारदर्शी बनाउन संस्थाका पदाधिकारी तथा कर्मचारीहरूलाई अनुरोध गरेका छन् । राप्ती गाउँपालिकामा ३४ वटा सहकारी संस्था रहेका छन् । जस अनुसार हाल सम्म वडा नम्बर १, २, ३, ४ र ६ मा रहेका १० वटा सहकारी संस्थाहरूको अनुगमन गरिसकिएको छ ।गत वैशाख २१ गते देखि सुरू गरिएको अनुगमन ७ दिन सम्म जारी रहने शाखा प्रमुख हमालले जानकारी दिएका छन् । अनुगमनमा नेफ्सुन अनुगमन अधिकृत पवन मल्ल, राप्ती गाउँपालिका आर्थिक बिकास प्रमुख जिवराज पौडेल र सहकारी शाखा प्रमुख शेरबहादुर हमाल रहेका छन् ।
२३ बैशाख २०८०, शनिबार
प्रतिक्रिया