प्रदेश

बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला




बाँके, २६ जेठ । माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बनेकी छन् । विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बनेकी उनले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुबैको माया उत्तिकै गर्दै आएकी छन् । चार दशक पार गरिसकेकी मिनुलाई हात्तीमाथि बसेर परिचालन गर्न झण्डै एक वर्ष हात्तीसँगै बस्नुपर्यो । काठमाडौँमा ज्याला मजदुरी गरेर आजित बनेकी उनी आफ्नै गाउँमा हात्ती सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै फर्किएर माहुतेका लागि फारम भरेर नामसमेत निकाल्न सफल भएकी थिइन् ।

प्रत्येक दिन घरबाट जङ्गल र जङ्गलबाट घर गर्दा सधैँ हात्ती नै साथी भएको बताउँदै मीनुले अब सकुन्जेल हात्तीकै सेवा गर्ने र हात्तीसँगै जङ्गल सफारी गर्ने बताइन् । “मलाई मेरो छोरा र हात्तीमा एउटै जस्तो लाग्छ तर फरक छोराहरु बोल्छन् हात्ती बोल्दैन् । मेरा लागि दुबै उस्तै हुन् ।” उनले भनिन्, “विगत साढे पाँच वर्षदेखि हात्ती मेरो साथी भएको छ ।” हात्ती सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म नगरेकी मीनुले अहिले माहुते बनेर आन्तरिक पर्यटक घुमाउँदा आफै दङ्ग परेको बताइन् । “मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन तर निस्कियो । कहिलेकाहीँ पहिलाका दिनलाई सम्झन्छु । अनि आफैं दङ्ग पर्छुु ।” एकल महिला उनका श्रीमान् आजभन्दा आठ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका बेला घरको छतबाट खसेर मृत्यु भएको थियो ।

आफ्ना दुई छोरालाई सामान्य जीवनयापन गर्नसमेत गाह्रो भएका बेलामा मीनुलाई माइती र घर दुबै पक्षबाट साथ र सहयोग नपाएपछि ज्याला मजदुरी गररै भए पनि छोरा पाल्नका लागि काठमाडौँ आएर झण्डै डेढवर्षसम्म घर बनाउने काम गरिन् । स्थायी कर्मचारी उनले सुरुमा रू १५ हजारबाट हात्तीको सेवा गर्दै आइरहेकोमा अहिले मासिक रु २५ हजार बुझ्छिन् । बिहान ५ बजे उठेर जङ्गल जाने र बेलुका ५/६ बजे जङ्गलबाट फर्कने त मीनुको दिनचर्या नै बनिसकेको छ ।

सामान्य लेखपढ भएकी उनले हात्तीलाई भने आफ्नै भाषामा धेरै कुरा पढाइसकेकी छन् । मिनुले भनिन्, “मेरो हात्तीले मैले जे भन्यो त्यही मान्छ । मेरो भाषा बुझ्छ । जब यसले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुसी लाग्छ ।” मीनुले सौराज गज नामक भाले हात्तीमामाथि बसेर जङ्गल सफारी गराउँदै आएकी छन् । मीनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती हाँक्ने महिलाको रुपमा चिनिन्छिन् रीताकुमारी सुवेदी पनि । उनले पनि हात्तीलाई आफ्नो भाषा सिकाउँदै आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको छ वर्ष भैसकेको छ । तीन दशक पार गरेकी रीता पनि परीक्षा दिएरै माहुते बनेकी हुन् ।

प्लस टुसम्म पढेकी उनले माहुते बन्न कम्तीमा पनि ६ महिना हात्तीको सेवा गर्नुपरेको बताइन् । रिताले भनिन्, “हात्तीको सेवा गर्दै गर्दा उस्ले हाम्रो भाषा बुझ्ने रहेछ अनि हामीले पनि उस्को आवश्यकता । हात्तीमाथि बस्न मलाई कम्तीमा पनि ६ महिना लाग्यो ।” बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ती सफारिका लागि पर्यटक नआए पनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तीमा बसालेर जङ्गल सफारी गराउने गरेको रीताले बताइन् ।

बिहानै उठेदेखि बेलुका नहुुँदासम्म पनि जङ्गलमै दिन बित्दा कहिलेकाहीँ दिक्क लाग्ने रीताले बताइन् । “कहीलेकाहीँ त दिक्क लागेर आउँछ । जागिर छोडिदिउँ कि जस्तो पनि लाग्छ । तर फेरि यो आर्थिक मन्दीमा अरुले जागिर नपाएर भौतारिएको देख्दा जस्तो भए पनि सरकारी जागिर छ भन्ने सम्झन्छु र मन बुझाउँछु ।” बच्चा सानो हुँदा श्रीमान्ल गायत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरे पनि रीताले घर र जङ्गल दुबै सम्हाल्न सक्ने अठोट गर्दै माहुते बनिरहिन् । अहिले आफू हात्ती हाँक्ने महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने पनि उनले बताइन् ।

आजभन्दा दुई वर्ष पहिला माहुते आफूलाई ‘गणेश गज’ नाम गरेको भाले हात्तीले हानेर घाइते बनाएको घटना उनले सुनाइन् । अहिले उनी शान्तिकली नाम गरेको हात्तीको माहुते रहेकी छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ती हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जङ्गल सफारी गर्न आउने पर्यटकले भने महिला माहुुते भएको हात्तीमा सफारी गर्न अलि आनाकानी गर्ने गरेको बताए । “जङ्गल सफारीमा आउने पर्यटकले महिला माहुतेभन्दा पुरुष माहुतेलाई रोज्ने गरेको पाइन्छ ।” उनले भने्,“सायद शारीरिक रुपमा पुरुषको तुलनामा महिला कमजोर हुन्छन् र जङ्गलमा भइपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुनसक्छ । तर हामीले पर्यटकलाई सम्झाउने गरेका छौँ ।”

अधिकृत साहले माहुते हुनका लागि पहिला शरीरिक परीक्षा पास गर्नुपर्ने प्रावधान अनुसार महिला माहुतेले पनि रुख चढ्ने, दौडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिए । उनका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरुप नै माहुते छनोट गरिन्छ । महिला माहुतेले पनि ती सबै तहका परीक्षा पास गरेको हुनाले पर्यटकलाई महिला माहुतेप्रति लिङ्गका आधारमा भेद्भाव नगर्न आग्रह गरिन्छ ।

प्रमुख संरक्षण अधिकृत साहले महिला माहुुतेलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताए । उनले भने, “महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ । त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतेलाई आरामका लागि बिदा दिने गरेको छ ।” उक्त समयमा पुरुष माहुतेले महिला माहुतेले हाँक्ने हात्तीको हेरचाहा गर्ने गर्दछन् । निकुन्जमा सफारीका लागि ६ वटा हात्तीमध्ये भेले हात्ती दुई र पोथी हात्ती चारवटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिए । उक्त निकुञ्जमा महिला पुरुष गरी २० जना माहुते छन् । रासस

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६