दाङ २८ जेष्ठ । दाङ(देउखुरीको राप्तीमा करिब एक महिना देखि भईरहेको नदीजन्य पदार्थ उत्खनन् आज आइतबार देखि रोकिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैध नेतृत्वको अनुगमन टोलीले एक महिना देखि मापदण्ड बिपरित ठुला(ठुला मेसिन प्रयोग गरी भईरहेको नदीजन्य पदार्थ उत्खनन् आज बाट बन्द भएको हो ।एक महिना सम्म कानमा तेल हालेर बसेका जनप्रतिनिधि र प्रजिअले आज बल्ल फुर्सद पाए पछि नदी तथा खोलाको अनुगमनमा निस्किएको थिए । देउखुरीको राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका क्षेत्र भित्र पर्ने राप्ती सहित अन्य खोलामा दिनरात ठुला(ठुला मेसिन प्रयोग गरि मापदण्ड विपरित उत्खनन् हुँदा समेत स्थानीय सरकार र सिडियो कार्यालय मुखदर्शक बनेका थिए ।
ठेक्दारहरूले आफू खुसी मनलाग्दी नदीजन्य पदार्थ उत्खनन् गरेर कोटा पूरा गरेपछि जेष्ठ महिनाको अन्तिममा आज गरेको अनुगमनले कुनै अर्थ नराख्ने स्थानीय प्रकृतिप्रेमीहरूले बताएका छन् । उनीहरूले राज्यका जिम्मेवार निकाय र जनप्रतिनिधिहरूको मिलोमतोमा प्रत्येक बर्ष यसरी नै नदीजन्य पदार्थ उत्खनन् हुने गरेको बताएका छन् ।राप्ती नदी चुरे क्षेत्रमा पर्दछ, चुरे क्षेत्रमा ठुला मेसिनको कुरा त परै जओस्, समान्य डोजर, ट्रिप्पर समेत प्रयोग गर्न नमिल्ने कानुनी प्राबधान छ । तर राज्यका जिम्मेवारी निकायहरू राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितीले नीति, विधि र मापदण्डलाई समेत कुल्चिएर आफू खुसी मनलाग्दी ठुला(ठुला मेसिन प्रयोग भएको स्थानीय वातावरणप्रेमी तथा सामाजिक अभियान्ता जगतप्रसाद पोख्रेलले बताउनुभयो ।
उहाँले राज्यको जिम्मेवार निकाय र जनप्रतिनिधिको मिलोमतो बिना उत्खनन् नहुनै नसक्ने जिकिर समेत गर्नु भयो ।केही दिन पहिले राप्ती नदीको २ नम्बर इन्टेक पाखापानी नजिक सिचाईका लागि भन्दै प्रगन्ना तथा बड्कापथ सिचाई व्यवस्थापन कार्यालय लमहीको सिफारिसमा राप्ती गाउँपालिकाले समेत आफूखुसी ठुला(ठुला मेसिन प्रयोग गर्न अनुमति दियो । त्यसपछि स्थानीय सामाजिक अभियान्ताहरूले जथाभावी तथा मापदण्ड बिपरित उत्खनन् भएको भन्दै बिरोध जनाएपछि पालिकामा सर्वदलीय, सर्वपक्षीय बैठक बसी नदि अनुगमन गरी सिचाईका लागि अब कुलो खन्नुनपर्ने सहमतिमा उत्खनन् बन्द गर्ने सहमती भएपनि उक्त सहमतिको समेत उल्ङ्घन गरी ठेक्दार पक्षले जथाभावी, मनलाग्दी र मापदण्ड बिपरित उत्खनन् गर्दा समेत स्थानीय सरकार केही गर्न नसकेको र पालिका कै मिलोमतोमा उत्खनन् गरिएको समाजिक अभियान्ता पोख्रेलले आरोप लगाउनु भयो ।
यो बर्ष पनि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिती दाङको सहमति राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाले राप्ती नदी तथा अन्य खोलाहरूमा समेत ठुला(ठुला मेसिन प्रयोग गर्न अनुमति दिई उत्खनन् गर्न दिएको स्थानीयबासीहरूले बताएका छन् ।यस बर्ष मापदण्ड विपरित मनलाग्दी उत्खनन् हुँदा समेत स्थानीय सरकार चुक्क बोल्न नसक्नु र नियमन समेत गर्न आलताल गर्नुलाई सजिलै मिलोमतो रहेको प्रष्ट हुने आर्का सामाजिक अभियान्ता धर्मराज अधिकारीले बताउनु भयो । उहाँले मिलोमतो र सेटिङ्ग बिना यसरी दिनरात उत्खनन् गर्न कसैको हिम्मत नहुने तर्क गर्नु भयो ।गत बर्ष समेत राप्ती नदीहरूमा ठुला(ठुला मेसिन प्रयोग भएको सुचना पुगेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितीले राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्रचार नै गरी तत्काल स्काभेटर तथा डोजर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न निर्देशन नै दिएको थियो ।
यस बर्ष पनि राप्ती नदीमा भईरहेको उत्खनन्को चौतर्फी बिरोध भएपनि राज्यका जिम्मेवार निकाय गम्भीर बन्नुका साटो उत्खनन् लाई प्रसय दिएको स्थानीय प्रकृतिप्रेमिहरूले आरोप लगाएका छन् । उता राजपुर गाउँपालिकाले जथाभावी नदीमा उत्खनन् गर्न दिएको भन्दै केहीदिन अघि स्थानीयबासीले गाउँपालिका कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।प्रकृतिप्रेमी तथा सामाजिक अभियान्ताहरूले बारम्बार नदि जन्य पदार्थ उत्खनन् को बिरोध गर्दा समेत जिम्मेवार निकाय मुखदर्शक बनेको भन्दै आपत्ति समेत जनाएका थिए ।
चर्को दबाब र आलोचना पछि आज बल्ल फुर्सद पाएको सिडियो कार्यालय सहितको अनुगमन टोलीले राप्ती नदी सहित अन्य खोलाको अनुगमन पछि तत्काल उत्खनन् बन्द गर्न प्रजिअ बैध निर्देशन दिनु भयो । यसैबीच आजको अनुगमनलाई स्थानीयस्तरका नागरिकले सिडियो र जनप्रतिनिधिको नाटकमञ्चनको संज्ञा दिएका छन् ।उनीहरूले एक महिना सम्म मापदण्ड विपरित ठुला(ठुला मेसिन प्रयोग गरि उत्खनन् गर्दा समेत चुक्क नबोल्ने जिम्मेवार नियमन निकाय पानी माथिको ओबानो बन्न खोजेको स्थानीय प्रकृतिप्रेमि तथा सामाजिक अभियानताहरूले बताएका छन् । आजको अनुगमन र निर्देशनले नदी दोहन र उत्खनन् को कुनै अर्थ नरहने समेत स्थानीयबासीहरूको भनाई छ ।
प्रतिक्रिया