कृषि

खडेरीले धानको बीउ राख्न समस्या



बाँके, २९ जेठ । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् ।

आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताए । सिँचाइको व्यवस्था नभएकाले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो ।

“धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उनको गुनासो छ ।

बाँकेमा सिँचाइ सुविधा नपुगेका क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीका राखिएको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ । नेपालगन्ज, खजुरा, जानकी, वैजनाथलगायत क्षेत्रमा किसानले मोटरबाट तानेर वा खोनपानी नै प्रयोग गरेर बीउ राखेका छन् । जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको जानकी गाउँपालिका–५ बेलहरीका किसान रामसुरत यादवको भनाइ थियो ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।

धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमितरुपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिए ।

कृषि ज्ञानकेन्द्रका प्रमुख शकील अहमदले यो वर्ष वर्षा नभएका कारण जिल्लामा धानको बीउ राख्नै किसानलाई कठिनाइ भएको बताए । जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६