प्रदेश

बृहत् लुम्बिनी क्षेत्रमा सारस चरा गणना, भेटिए ६ सय ५२ सारस




लुम्बिनी, २९ जेठ । बृहत् लुम्बिनी क्षेत्रमा सारस चरा गणना गर्दा ६५२ वटा पाइएका छन् । नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणका क्रममा दुर्लभ श्रेणीमा रहेका ६५२ वटा सारस सो क्षेत्रमा फेला परेको जनाएको छ ।

स्मरण रहोस्, यस भन्दा अगाडि यो क्षेत्रमा कति सारस थिए भन्ने यकिन थिएन । सारसलाई नेपालका ९ वटा संरक्षित पक्षीहरुको सूचीमा राखिएको छ । डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको पन्छी अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले जनाए ।

उनका अनुसार २८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय, रुपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएका हुन् ।

गत अप्रिल र मे महिनाको बीचमा बृहत् लुम्बिनी क्षेत्रमा ९३ वटा, ५–५ किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो ।

सारस विशेष गरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको हो । साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा राखिएको सारस सिमसार क्षेत्रमा बसोबास गर्छ ।

सारसको सङ्ख्या मात्र नभई यसको भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबीचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानीय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको सोसाइटीका महासचिव हरिप्रसाद शर्माले बताए ।

उनले क्षेत्रीय अवलोकन र अध्ययन अनुसन्धानमार्फत चितवनदेखि कञ्चनपुरसम्म फैलिएको १० जिल्लामा सारस क्रेनको उपस्थिति पुष्टि गरेको खुलाए ।

शर्माका अनुसार नेपालको कुल क्षेत्रफलको लगभग साढे ४ किमी सारस क्रेनको लागि उपयुक्त वासस्थान भएको अनुमान गरिएको छ । सो क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर पछिल्लो समय ३६ सारसको मृत्यु भएको पनि सर्वेक्षणका क्रममा भेटिएको छ ।

नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने ठुलो चराका रूपमा रहेको यो प्रजातिको सारस ६ फिटसम्म अग्लो हुन्छ । यो उड्ने चरामध्ये सबैभन्दा अग्लो चरा हो ।

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६