देश

सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्छः गगन थापा



विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने बताएका हुन् ।

‘नेपाली कांग्रसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’ महामन्त्री थापाले भने, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ, जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनु भो, त्यहाँ हामी जोसुकै हौंला, कसैले पार्टी नेतृत्व गर्ने अवस्था आयो भने उहाँको (देउवा) हितमा छ पार्टीको हितमा पनि छ ।’

उनले नेतृत्व हस्तान्तरण र प्रधानमन्त्री हुने विषयमा देउवाले मार्ग प्रशस्त गर्दा पार्टी र देउवाको हितमा हुने दाबी गरे । ‘यो बिचको समयमा यी कुरा होस् भन्ने म चाहन्छु,’ उनले भने, ‘आफ्नो चाहनालाई व्यवहारमा परिणत गर्न प्रयत्न पनि गर्छु ।’

उनले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए । ‘यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एकपटक सरकार त बन्छ, प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो’, उनले भने, ‘यो पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि, जनताका लागि थुप्रै काम भएका छन्, अब नेपाली कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।’ नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेका कारण देउवाको विकल्पमा नयाँ अनुहार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले नेता शेखर कोइरालासँग आफ्नो सम्बन्ध प्रगाढ रहेको बताए । ‘शेखर कोइरालासँग १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीको उम्मेदवार बन्दा जस्तो सम्बन्ध थियो, त्यो भन्दा प्रगाढ होला त्यो भन्दा कम भएको छैन’ उनले भने, ‘१५ औं महाधिवेशनसम्म थप साथीहरु जोडिन्छौं, भएका साथीहरु छुट्टिन्नौं ।’सभापति र शेखर कोइरालाको सम्बन्धको कुरा भने व्यक्तिगत रहेको भन्दै थापाले त्यसबारे टिप्पणी नगर्ने बताए ।

गगन थापाले पत्रकार सम्मेलनमा के भने ?

मेरो र सभापतिज्यूको सम्बन्धको सन्दर्भमा, पार्टीभित्र म उहाँको कार्यकर्ता हो । मेरो उहँसँग कुनै व्यक्तिगत आग्रह हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहँदैन । खाली आजको दिनमा नेपाली कांग्रेसको आम सदस्यको चाहना, त्यो भन्दा पनि कांग्रेसको समर्थक, शुभेच्छुकको चाहना, देशको आवश्यकता, यो सबै कुरालाई हेरेर मैले उहाँलाई राख्न चाहेको विषय के हो भने नेपाली कांग्रेसका सभापतिले जे जति कुरा यो पार्टीका लागि गर्नुपर्ने हो गर्नुभयो, उहाँको ठूलो योगदान छ, हामी आभारी छौं, जीवनपर्यन्त यसलाई सम्झिन्छौं ।

तर यो भन्दा अगाडिको यात्रा अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट उहाँ बाहिर निस्कनुपर्छ । जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनुभयो, जो सुकै होला कसैले पार्टीले नेतृत्व गर्ने अवस्था आयो भने यो उहाँको हितमा छ, पार्टीको हितमा छ ।

त्यतिमात्र होइन, यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एक पटक सरकार त बन्छ । प्रधानमन्त्रीका रुपमा पनि उहाँले ५ पटक काम गरिसक्नुभयो । ५ पटक प्रधानमन्त्री हुँदै गर्दा देश र जनताका लागि थुप्रै काम भएका छन् । नेपाली जनताले ती कामहरुको सम्मान गर्दै अब नेपाली कांग्रेसको तर्फबाट कोही नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन्, जो पनि हुन सक्छ ।

तर यसका निम्ति सभापतिजीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा र नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुराका लागि मार्ग प्रशस्त गरिदिनुभयो भने त्यो उहाँको हितमा पनि छ, पार्टीको हितमा पनि छ । यो बीचको समयमा यो कुरा होस् भन्ने म चाहन्छु । र आफ्नो चाहनालाई व्यवहारमा अनुवाद गर्न प्रयत्न पनि गर्छु । किनकी यो प्रयत्न गर्ने कुरा आजको दिनमा म पार्टीको हितमा छ भन्ने ठान्छु ।

प्रकाशित : ३० जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६