प्रदेश

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित




दाङ, ३१ जेठ । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा बैठकबाट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभा समक्ष आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदन समक्ष निर्णयार्थ पेस गरेका थिए । ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यसअघि सदनमा सत्ता पक्ष र विपक्षका सांसदहरुबीच नीति तथा कार्यक्रमलाई लिएर जुहारी नै चलेको थियो । सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको बचाउ गर्दा सत्ता बाहिर रहेका दलका सांसदले भने चर्को आलोचना गरे ।

खासगरी नेकपा एमालेका सांसदहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रमको चर्को विरोध गरे । उनीहरुले नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको टिप्पणी गरे ।

नेपाली कांग्रेसका सांसद बैजनाथ कलवारले विगतका सरकारले ल्याएको भन्दा अहिले धेरै राम्रो नीति तथा कार्यक्रम आएको दाबी गरे । किसान, मजदुर तथा अन्य सबै वर्गको हितमा केन्द्रित रहेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

कलवारले हरेक मन्त्रालयमा उद्देश्य अनुसारको नारा लिएर सरकार अगाडि बढेको जिकिर गरे । स्थानीय सरकारसँग सहकार्य गर्दै प्रदेशवासीको समृद्धिका लागि नीति तथा कार्यक्रम आएको उनको भनाइ छ ।

उनले शंकर पोखरलेको पालामा ल्याएको बजेटको विषयमा टिप्पणी गरेपछि एमालेका संसादहरुले आपत्ति जनाएका थिए ।
माओवादी सांसद कृष्णा केसीले पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम बचाउ गरेकी थिइन् । उनले शिक्षा, कृषिमा सुधार गर्नुपर्ने मागसमेत गरिन् । सामुदायिक विद्यालय सुधार गर्नुपर्ने नीति ल्याउनुपर्ने उनको भनाइ थियो ।

एमालेका सांसद दिनेश पन्थीले ग्रामीण ऊर्जा, स्वास्थ्यप्रति नीति तथा कार्यक्रमले ध्यान नदिएको आरोप लगाए । उनले प्रदेशले वन व्यवस्थापनलाई राम्रो आम्दानी बनाउने विषय नीति तथा कार्यक्रममा नआएको बताए ।

एमाले सांसद भूमिश्वर ढकालले विगतका केही योजनाहरू काटेको भन्दै आपत्ति जनाए । उनले बजेट व्यवस्थित रूपमा ल्याउनुपर्ने बताउँदै सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण नभएको बताए ।

कांग्रेस सांसद प्रचण्ड विक्रम न्यौपानेले किसानले तरकारी बिक्री गर्न नसकेको बताउँदै दाङमा उत्पादन भएको तरकारी बुटवल, काठमाडौँ पु¥याएर बिक्री गर्ने नीति ल्याउनुपर्ने बताए । विदेश जाने युवालाई रोक्ने गरी कृषि उत्पादनसँग जोडेर बजेट ल्याउनु पर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशवासीको हितमा रहेको दाबी गरे । अहिले ल्याएको नीति तथा कार्यक्रममा टेकेरै बजेट ल्याउने उनको भनाइ थियो ।

प्रदेश सरकारले विपत् व्यवस्थापनका लागि संयन्त्र बनाएर काम गर्ने, वन व्यवस्थापन पैदावार नीति, स्वास्थ्य नीति आदिका बारेमा सरकार गम्भीर रहेको मुख्यमन्त्री चौधरीले बताए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि एमालेका पाँच जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार श्रेष्ठ, रत्नबहादुर खत्री, बसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए । असार १ गते दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक बस्ने सभामुख घर्तीले जानकारी गराए ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६