काठमाडौं, ०८ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुईजना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने टिप्पणी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो व्यंग्य गरेका हुन्।
उनले पार्टी बनाउन श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरुरी रहेको बताए। उनले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोध र प्रधान शत्रुको सही पहिचान गर्दै जनतालाई दलाल पुँजीवादविरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए।
‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरुलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै व्यापक जनतालाई दलाल पुँजीवादविरुद्ध गोलबन्द गराउनुपर्छ। उनीहरुलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ‚’ उनले भने‚ ‘दुईजना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन। दुईजना मन्त्री बनायौँ। कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकताबद्ध गर्ने हो।’
उनले एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे। उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा ठूलो असन्तुष्टि रहेको बताए।
उनले भने, ‘हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ पार्टीको। पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो। महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ। महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ। हाम्रा विचार पनि त्यहीअनुसार संस्थागत हुन्छन्। यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एटम बन्नुपर्छ। अहिले एमालेभित्र व्याप्त असन्तुष्टि छ‚ देशव्यापी रुपमा‚ त्यो नेतृत्वले नेतृत्व लिन सकिरहेको छैन। त्यस्तै माओवादीभित्र छ।’
उनले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए। पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताए।
‘नेपाली समाजमा संकट नै संकटको श्रृंखला छ, राजनीतिक संकट, दिशाहीनता, खिचडी सरकार बनाएर जान बाध्य छौँ‚’ उनले भने‚ ‘न क्रान्तिकारी कार्यक्रम बनाउन सक्छौँ, त्यो सरकारमा। राजनीतिक दिशा कता जाने अन्योल देखिएको छ। आर्थिक क्षमता कमजोर बन्दैछ।’








प्रतिक्रिया